अलैँचीको भाउमा भारी गिरावट आए सगै किसान चिन्तित

काठमाडौं १७ पुस । अलैँचीको भाउमा भारी गिरावट आए सगै सिन्धुपाल्चोकका अलैँचीखेती गर्ने किसान चिन्तित भएका छन् । 
गाउँमा अहिले अलैँचीको प्रतिकिलो छ सय रुपियाँमा बिक्री हुने गर्छ भने सदरमुकाम र अन्यत्रको बजारमा पु¥याए प्रतिकिलो एक हजार रुपियाँमा बिक्री हुन्छ । गतवर्षको तुलनामा अलैँचीको मुल्यमा कमी आएसगै किसानले उत्पादित अलैँची घरमै थन्काएका छन् । जिल्ला कृषि कार्यालयका अनुसार गतवर्ष प्रतिकिलो तीन हजार रुपियाँसम्ममा बिक्री भएको थियो ।  
उचित मूल्य नपाउँदा घरमै थन्काइएको अलैँची पनि कुहिने, बिग्रने अवस्थामा पुगेको छ । हेलम्बु गाउँपालिका चिउरेखर्कका कृषक यदुकुमार भण्डारीले १० रोपनी जग्गामा उत्पादन गर्नुभएको अलैँची उचित मूल्य नपाएकै कारण गोदाममा नै थन्किइरहेको बताउनु भएको छ ।
 जिल्लाभरका धेरै कृषकले उत्पादन गरेको अलैँचीले उचित मूल्य र बजार नपाउँदा कृषकमा निराशा छाएको छ । अलैँचीको मूल्यमा भारी गिरावट आएको कारणले उत्पादित अलैँची बिक्री गर्न सकिएको छैन र कृषकले अलैँचीखेती छाड्ने खतरा बढेको छ । 
सिन्धुपाल्चोकको साविक हेलम्बू, दुवाचौर, सेलाङ, ज्यामिरे, धुस्कुन, चोकटीका दुई दर्जन बढी ठाउँलाई अलैँची पकेट क्षेत्रको रूपमा लिइने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । 
सो कार्यालयका अनुसार सिन्धुपाल्चोकमा पाँच सयभन्दा बढी हेक्टर क्षेत्रफलमा व्यावसायिक अलैँचीखेती गरिँदै आएको छ । यस वर्ष जिल्लाभर अनुमानित सात टन अलैँची उत्पादन गरिएको बताइएको छ ।

 

Comment