बाँके र बर्दियामा हिउँदे बालीलाई आवश्यक रासायनिक मलको अभाव

काठमाडौं ७ माघ । अन्नभण्डार मानिने बाँके र बर्दियामा हिउँदे बालीलाई आवश्यक मलजल गर्नुपर्ने समयमा रासायनिक मलको अभाव भएको छ । कृषि सामाग्री कम्पनी लिमिटेड मार्फत वितरण हुँदै आएको अनुदानको युरिया मलको अभाव भएपछि बाँके र बर्दियाका ग्रामीण क्षेत्रका कृषक उब्जनीमा ह्रास आइ लगानी डुब्ने पीरले चिन्तित हुन थालेका छन् ।
तोरी, मसुरो र गहुँ खेतीको लागि युरिया मल हाल्नुपर्ने समयमा मंसिर दोस्रो सातादेखि रासायनिक मलको अभाव भएपछि कृषकहरु चिन्तित बनेका हुन् । हिउँदे बालीमा सिँचाइ सुविधाको मार खेप्दै आएका कृषकलाई मलको समेत अभाव भएपछि उनीहरु खेतमा पानीको जोहो गर्न र रासायनीक मलका लागि विभिन्न ठाँउमा धाउन थालेका छन् । कृषि सामाग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय नेपालगन्जका अनुसार मंसिर तेस्रो सातादेखि बाँकेमा युरिया मल अभाव भएको हो । मल अभाव भएको जानकारी सम्बन्धित निकायमा गराएपनी अझै दुई साताभन्दा बढी लाग्ने जानकारी प्राप्त भएको कार्यालयका निमित्त प्रमुख रमेश पौडेलले बताउनु भएको छ । बाँके जिल्लामा ५ हजार मेट्रीक टन युरिया, २ हजार टन डीएपी र ७५ टन पोटास आवश्यक पर्नेमा केन्द्रले करिव २ हजार ५ सय टन युरिया १ हजार ४ सय टन डीएपी र ७० टन पोटास पठाउने गरेको छ । जिल्लाको मागका आधारमा केन्द्रवाट कम मल आयात हुने गरेका कारण समस्या हुने गरेको कार्यालयले जनाएको छ । उता बर्दियामा समेत डेढ महिना देखि युरिया मलको अभाव भएको कार्यालयले जनाएको छ । सरकारी अनुदानको मल बिक्री वितरणको जिम्मा पाएको कृषि सामाग्री कम्पनी लिमिटेडले बर्दियाका १ सय १० सहकारीमार्फत मल बिक्री वितरण गर्ने गरेको छ । 
जिल्लामा सँधै खेती लगाउने समयमा रासायनिक मलको अभावहुने गरेको छ । मलको अभावमा उत्पादकत्वमा ह्रास आउने भएकोले कृषिमा गरेको लगानी डुब्ने हुँदा मलको कोटा वृद्धि गरी समयमै मल व्यवस्थागर्न कृषकहरुले माग गरेका छन् ।

 

Comment