बिउ उत्पादनबाट लाखौ आम्दानी

काठमाडौं ८ पुस । चौरजहारी नगरपालिका क्षेत्रका किसानले खाद्यान्न बाली र तरकारी बालीको उन्नत बीउ बिक्री गरी २० हजार देखि ४ लाखसम्म आम्दानी गर्ने गरेका छन् । विशेषगरी चौरजहारी नगरपालिकाका ७ वडाका किसानको मुख्य पेसा नै बीउ उत्पादन भएकाले यहाँका किसानको बीउ उत्पादनबाट राम्रो आम्दानी हुने गरेको छ ।
चौरजहारी नगरपालिकाका ३, ५, १०, ११, १२, १३ र १४ वडाको धेरैजसो किसानले बीउ बिक्री गरेर आम्दानी गर्ने गरेका छन् । बीउ उत्पादक किसान गणेश शर्माले पनि बीउ बिक्री गरेर आफूसहित छोराछोरीको पठनपाठन घर खर्चदेखि सम्पूर्ण व्यवस्थापन तरकारी बीउको बिक्रीबाटै पूर्ति गरिरहेको बताउनु भएको छ । यस क्षेत्रका बीउ उत्पादक किसानले एक सिजनमा कम बीउ बिक्री गरेर २० हजार र धेरै आम्दानी गर्ने किसानले ४ लाखसम्म आम्दानी गर्ने गरेको शर्माले बताउनु भएको छ । त्यस क्षेत्रका किसानले खाद्यान्नमा मकै, धान र गहुँ तथा तरकारीमा मुला, रायो, प्याज, टमाटर, काउली, सलगम, चम्सुरलगायतको बीउ उत्पादन गर्दै आएका छन् । पछिल्लो समय समूह तथा सहकारीमार्फत बीउ बिक्री गर्ने चलन बढेको छ । बीउ बिक्रीका लागि सजिलो हुने भएकाले बीउ उत्पादन गर्ने किसानहरू समूह तथा सहकारीमा आबद्ध भएका छन् । ७ वटा वडाका झन्डै सात सय बीउ उत्पादक किसान समूह तथा सहकारीमा आबद्ध छन् ।
पछिल्लो समय स्थानीय सरकारले नै किसानका उत्पादन बिक्री वितरण गर्ने नीति लिएपछि किसान थप हौसिएका छन् । ठूलो मात्रामा कृषि उपज तयार गर्ने किसानको उत्पादन बिक्री नभएको सन्दर्भमा चौरजहारी नगरपालिकाले नै उक्त उत्पादन किनिदिने नीति लिएको छ । त्यसका लागि किसानले आफूले उत्पादन गर्ने वस्तुबारे नगरपालिकालाई विस्तृत रूपमा अग्रिम जानकारी गराउनुपर्छ ।

Comment