केही किसानले बिमा गरे पनि अधिकांश कृषक बिमा कार्यक्रमबारे बेखबर

काठमाडौं ११ असार ।  कृषि र पशुपालनमा नमुना जिल्ला कहलिएको इलाममा बाली र पशु सुरक्षाका लागि कृषक नै उत्साहित नभएको पाइएको छ । पशु र कृषिमा हुने जोखिममा सरकारले बिमाको व्यवस्था गरे पनि कृषकको चासो कम देखिएको हो ।
बाध्यकारी प्रावधानबाहेक कृषकले बिमा नगर्दा ठूलो क्षति भोगिरहेका छन् । बिमा कम्पनीको ग्रामीण क्षेत्रमा पहुँच नहुनु र स्थानीय तहलगायत सरोकारवालाले महत्त्व नदिँदा जिल्लामा बिमा गर्नेको संख्या न्यून देखिएको हो । कृषि सुरक्षणको नामबाट २०६९ सम्म सञ्चालनमा रहेको कार्यक्रमलाई थप प्रभावकारी बनाउन सरकारले बिमाको कार्यक्रम अघि सारेको हो । निर्जीवन बिमाका लागि बिमा कम्पनीलाई २०७१ देखि ठाउँ तोकिदिएको थियो । इलाममा कृषि र पशुबाट वार्षिक अर्बौं रुपैयाँ भित्रिने गरेको छ । लगानीको सुरक्षाका लागि कृषक तहबाट खासै प्रयास भएको देखिँदैन । केही सुझबुझ भएकाहरूले बिमा गरे पनि अधिकांश कृषक बिमा कार्यक्रमबारे बेखबर छन् ।
बिमाको राम्रा पक्षबारे सचेतनाको अभाव छ । बिमा गर्ने कम्पनीले पनि बाध्यकारी ढंगले मात्र कार्यक्रम अघि सारेका छन् । स्थानीय तहहरूले यो वर्ष एक–दुईबाहेक जिल्लामा सचेतनामूलक कार्यक्रम नै सञ्चालन गर्न सकेका छैनन् । कृषितर्फ अलैंची, अदुवा, धान, गहुँजस्ता अन्नबाली र आलु, खुर्सानी, टमाटर लगायत तरकारी बालीमा बिमा गर्न सकिन्छ । यी बालीमा कृषि मन्त्रालयले तयार पारेको कृषि डायरीअनुसार क्षेत्रफल निर्धारण गरी उत्पादन अवधिभित्रको लागत मूल्यांकनको आधारमा बिमा गरिने व्यवस्था गरिएको छ । किबी, अदुवा र अलैंचीमा भने बिमा भएको पाइएको छ । विभिन्न बैंकले कृषि शीर्षकमा ऋण प्रवाह गर्दा बिमा अनिवार्य गरेपछि मात्र कृषकले बिमा गरेको पाइएको छ । नेको इन्सोरेन्स लिमिटेडले इलामसहित मेची अञ्चलका झापा, पाँचथर, ताप्लेजुङ लगायत जिल्लामा बिमा गर्दै आएको छ । कम्पनीको बुझाइअनुसार बाली बिमाको अवस्था अझ कम छ । तीनवटा पहाडी जिल्लामा १४ सयजति कृषकले मात्र पशु र बाली बिमा गरेका छन् । यसमा इलामको अवस्था अझ कम छ । कृषितर्फ अलैंची र किबीका केही बगानबाहेकमा बिमा गरिएको छैन ।( कान्तिपुर दैनिक )

 

Comment