मह उत्पादनमा २५ प्रतिशतले वृद्धि

काठमाडौं १७ पुस । नलगाड नगरपालिकाका २ सय ५० जना व्यावसायिक मौरीपालक किसान मह उत्पादनमा वृद्धि भएसगै खुशी भएका छन् ।
वन विनाश, बढ्दो अतिक्रमण, जलवायु परिवर्तन, चरण क्षेत्रको अभाव र समयमा चिउरी नफुल्नु लगायतका समस्या भए पनि मह उत्पादनमा वृद्धिले उनीहरू खुसी भएका हुन् । कम मौरी घार भए पनि मह उत्पादन बढेपछि उनीहरूमा उत्साह पनि थपिएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष २५ प्रतिशतले मह उत्पादनमा वृद्धि भएको छ ।
नलगाड नगरपालिकाको कल्पत, पाली, चिउरी, डाँडागाउँ, लहँ, खगेनकोट र भेरी नगरपालिकाको पिपे, मैदे, डुँग्रीकाँडा, पुराना रिसाङलगायत क्षेत्रमा मह उत्पादन बढेको हो । यी क्षेत्रलाई मह उत्पादनको पकेट क्षेत्र मानिन्छ । यो वर्ष जिल्लामा मह उत्पादन बढेको नलगाड कृषि शाखा प्रमुख महेशकुमार विष्टले बताउनु भएको छ ।
नलगाड नगरपालिकामा मात्रै करिब ६५ लाखको मह उत्पादनमा भएको र गत वर्षको भन्दा २५ देखि ४० प्रतिशतले मह उत्पादन बढेको विष्टको भनाई छ ।
आफ्नो घारमा यो वर्ष मह उत्पादन दोब्बरले बढेको नलगाड ४ सिलाजाका धर्मराज रावलले गत वर्ष ३५ घार मौरीबाट दुई सय किलो उत्पादन भएकामा यस वर्ष १ सय ५० किलो उत्पादन भएको बताउनु भएको छ । 
नलगाड नगरपालिकामा २ सय ५० जना व्यावसायिक मौरीपालक किसान छन् । अर्र्गािनक महका लागि मौरीको सबैभन्दा उत्तम आहारा चिउरी मानिन्छ । पानी कम पर्दा मह उत्पादन बढ्ने गरेको किसानको भनाइ छ । किसानका अनुसार मैनपुतलीले मौरीको लार्भा र चाका खाइदिने कारणले मौरी भाग्ने गरेका छन् ।
गत वर्ष प्रतिकिलो पाँच सयमा बिक्री भएको महको मूल्य यस वर्ष सात सय रुपैयाँ पुगेको छ । मौरीमा मेहनत र लगानी कम लाग्ने तथा आम्दानी धेरै हुने गरेको किसानको भनाइ छ । 

 

Comment