राम्रो आम्दानीको स्रोत बन्दै खोले साग

काठमाडौं ९ पुस । पछिल्लो समय खोलामा पाइने खोले सागको माग बढेसगै पर्सा ठोरीका स्थानीय किसानको राम्रो आम्दानीको स्रोत बनेको छ ।
 खोले सागलाई सीम साग र पालुंगे साग पनि भनिन्छ । ठोरी गाउँपालिकामा पर्ने गंगटेखोला, धार्नी खोला, ताल खोला, जरायोखोला र झिंगेखोलामा पाइने खोले, स्थानीयले टिपेर बेच्दै आएका छन्। बजारमा खोले सागको माग बढ्न थालेपछि स्थानीयले खोलामै व्यावसायिक रूपमा खोले सागखेती गर्न थालेका छन् । ठोरीका चार र पाँचवटा खोलामा खोलेसाग पाइने भए पनि स्थानीयले वडा नम्बर १ भगवाननगरको घोलटोलमा रहेको गंगटेखोलामा मात्रै खोले सागको व्यावसायिक खेती गरेका छन् । स्थानीय हर्कबहादुर अधिकारी, हर्कबहादुर आले, दिलबहादुर थापा, धनबहादुर थापा, प्रेमबहादुर रिमाल, ज्ञानेन्द्र रिमाल लगायत आधा दर्जन किसानले गंगटेखोलामा खोले सागको व्यावसायिक खेती गरेका हुन् । खोलामा हरेकले लगभग एक एक कठ्ठामा खोले सागखेती गरेको भन्दै स्थानीय पुरन थापाले खोलामा त्यसै खेर गइरहेको साग अहिले भने सिजनमा प्रत्येक वर्ष एक घरपरिवारले ३५ देखि ४० हजार रुपैयाँसम्ममा बेच्ने गरेका बताउनु भएको छ । उपभोक्ता साग किन्न आफैं खोलासम्म पुग्ने गरेको भन्दै स्थानीय किसान थापाले  पछिल्लो समय खोले साग चितवन, कास्की, काठमाडौंलगायत शहरसम्म पुग्न थालेको बताउनु भएको छ । उनका अनुसार , मङ्सीर देखि चैत महिना सम्म खोलामा खोले साग उत्पादन हुन्छ ।
यो साग खादा कब्जियत, कुपोषण, आँखाको समस्या भएकाहरुको स्वास्थ्यमा प्रत्यक्ष फाइदा पुग्ने भएकोले यसको माग दिन प्रतिदिन बढ्दै गएको थापाले बताउनु भएको छ । खोले साग रोपेको एक महीना भित्र नै बेच्ने लायक हुने रोप्नुबाहेक यसको खेती गर्न कुनै लगानी पनि गर्नु पर्ने त्यसैले विना लगानी त्यसै खेर गइरहेको खोलाको पानी सदुपयोग गरेर स्थानीय किसानले राम्रो आम्दानी गर्दै आइरहेको थापा बताउनु हुन्छ ।

 

Comment