सुनसरी र मोरङका उखु किसानले अझै भुक्तानी पाएनन्

काठमाडौं ३ जेष्ठ । सुनसरी र मोरङका किसानले अझै उखुको भुक्तानी पाउन सकेका छैनन । यस वर्ष यी दुई जिल्लामा ११ लाख ८७ हजार ३ सय ५६ क्विन्टल उखु उत्पादन भएको छ । कृषकहरूले उत्पादन गरेको उखु सुनसरीको बर्जु गाउँपालिका ५ स्थित इस्टर्न सुगर मिल्सले खरिद गरी क्रसिङ गरेको हो ।
मिल्सले वैशाख ८ गतेसम्ममा उखु क्रसिङ गरेको छ । क्रसिङ भएको उखुमध्ये करिब ५ लाख क्विन्टल उखुको भुक्तानी गर्न बाँकी रहेको मिल्सका उखु विभाग प्रमुख सुरेशप्रसाद मेहताले जानकारी दिनुभएको छ । यस वर्ष उखुको मूल्य विवादले ढिलो गरी क्रसिङ हुँदा चिनी उत्पादन पनि घटेको हो । मिल्सले सरकारले तोकेको उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसामा ३० रुपैयाँ घटाएर ५ सय ६ रुपैयाँ ५६ पैसामा खरिद गरेको हो । मिल्सले खरिद गरेको दर अनुसार सुनसरी र मोरङमा ६० करोड १४ लाख ६७ हजार ५५ रुपैयाँको उखु कृषकले बिक्री गरेका छन् ।

 

Comment