टिमुरमा मिसावट हुदा किसान चिन्तित

काठमाडौं १६ पुस । टिमुरमा समेत उद्योगी तथा व्यापारीले मिसावट गर्न थालेसंगै व्यावसायिक रुपमा टिमुर खेती गर्ने किसान चिन्तित भएका छन् । मिसावट गर्दै सस्तोमा टिमुर बेच्न थालेपछि  किसान चिन्तितमा परेका हुन् ।
बन्गाडकुपिन्डे नगरपालिका ९ स्थित जयतपानी, सेवा, स्वारा र ज्यामिरेमा व्यावसायिक रूपमा टिमुर खेती हुने गरेको छ । गत वर्ष १ लाख २० हजार रुपैयाँ प्रतिक्विन्टल बिक्री भएको टिमुरको भाउ यस वर्ष ७२ हजारभन्दा माथि नगएको किसानको गुनासो छ । भाउ नपाउँदा कतिपय किसान र संकलनकर्ताले बिक्री नगरी गोदाममै थन्काएका छन् । खाद्यबाली लगाउन छाडी टिमुर खेतीमा लागेका कुपिन्डेका किसान अहिले अन्योलमा परेका छन् । 
उद्योगी, व्यापारीले तेल निकालेको टिमुर मिसावट गरी बाहिर सस्तोमा बिक्री गर्दा आफूहरू मारमा परेको बन्गाडकुपिन्डे ९ सेराका किसान पूर्णबहादुर बुढाले बताउनु भएको छ । अहिलेको भाउमा टिमुर बिक्री गर्दा करिब ५० प्रतिशत घाटा हुने बुढाले बताउनु भएको छ ।
ताजा र ग्रेडिङ गरेको टिमुर काठमाडौं, बुटवल, नारायणघाट लगायत सहरमा लैजाँदा पनि बेच्न नसकेको किसानहरूको गुनासो छ । व्यापारीले जस्तोसुकै टिमुर भए पनि प्रतिकिलो ५ सय ४० भन्दा माथि रकम दिन नमानेको किसानहरू बताउँछन् ।
पाँच सय बोट टिमुर लगाएका कुपिन्डेकै मैदु बुढाथोकीले तीन क्विन्टल टिमुर घरमै थन्किएको र व्यापारीले गरेको मिसावटका कारण केही वर्षपछि टिमुर बिक्री नहुने समस्या आएको बताउनु भएको छ । टिमुरबाट गत वर्ष मात्रै तीन लाख रुपैयाँ आम्दानी गरेको उहाँले यो वर्ष मुस्किलले दुई लाख रुपैयाँ कमाइ भएको बताउनु भएको छ । 
 व्यापारीसँग सम्पर्क गर्दा ६ सय रुपैयाँ प्रतिकिलो टिमुर किन्न नमानेपछि आफूले खरिद गरेको टिमुर गोदाममा थन्क्याएको खरिदकर्ता दीपेन्द्र बस्नेतले  ७ सय २० रुपैयाँ प्रतिकिलो खरिद गरेको र बिक्री नभएपछि किसानलाई अझै रकम उपलब्ध गराउन नसकेको गुनासो गर्नुभएको छ । 

 

Comment