दिक्तेल रुपाकोट मझुवागडी नगरपालिका र जिल्ला सहकारी संघले सयुक्त रुपमा अईचोपैचो पसल स्थापना

काठमाडौं १३ बैशाख । जथाभावी एग्रोभेटले महंगोमा विक्री गर्दै आएको तरकारी जन्य विउविजनहरु अव अइचो–पैचो पसलले सौलियत दरमा दिने भएको छ । ६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा दिक्तेल रुपाकोट मझुवागडी नगरपालिका र जिल्ला सहकारी संघले सयुक्त रुपमा स्थापना गरेको अईचोपैचो पसल स्थापना गरेको हो ।
यस पसलमा किसानले उत्पादन गरेको तरकारीजन्य वस्तु उचित मूल्यमा किनी दिने गर्छ । र, उनीहरुलाई आवश्यक पर्ने किराना सामानहरु पनि धेरै नाफा नराखी विक्री पनि गर्ने जिल्ला सहकारी संघका अध्यक्ष अनिल जोशीले जानकारी दिनुभएको छ ।  दिक्तेलस्थित पुरानो बैंक चोकमा २५ लाखको लागतमा बुधबार स्थापना गरेको यो पसलले किसानहरुलाई आवश्यक पर्ने विउँविजन पनि सस्तोमा दिने जोशीले जानकारी दिनुभएको छ । अन्य एग्रोभेटमा ५ सय पर्ने विउँविजन यस पसलमा तीन सयमै पाईने जनाईएको छ । नगरपालिका र सहकारी संघले संयुक्त रुपमा कार्यविधि बनाएर यो पसल संचालन गरेको जोशीले बताउनु भएको छ । जोशीका अनुसार सुरुमा ५,६ लाख रुपैया लगानी गरेर यस पसलको सुरुवात गरिएको छ । विस्तारै लगानी बढाईदै जाने नगरपालिकाकी उपमेयर विनादेवी राईले जानकारी दिनुभएको छ । अर्गानिक कृषि उत्पादन बढाउनुका साथै बजारीकरण पनि बढाउदै लैजाने उपमेयर राईले बताउनु भएको छ । खोटाङलाई चाँडोभन्दा चाडो तरकारीजन्य वस्तुमा आत्मनिर्भर गराईने लक्ष्य सहित स्थापना भएको यस पसलले जथाभाबी मूल्यमा विक्रीवितरण गर्ने पसलहरुलाई असर गर्ने जनाईएको छ । अहिले दुई जना कर्मचारी राखेर यस पसल संचालन गरिएको छ । यस पसलमा ३ जनासम्म कर्मचारी राखिने कार्यविधिले पारित गरेको छ ।(हलो खबर)

Comment