दुना टपरी बनाएर आत्मनिर्भर बन्दै महिला

काठमाडौं ९ पुस । जंगलमा खेर गएका सालका पात संकलन गरेर धनगढी उपमहानगरपालिका १४ फूलबारीका महिला आत्मानिर्भर बन्न थालेका छन् । गाउँका तीन महिला मिलेर दुना–टपरी उद्योग नै सञ्चालन गरेर आर्थिक उपार्जन गर्न थालेका छन् ।
भावना पुलामीमगर, सरिता बुढामगर र विष्णु भुसालले संयुक्त लगानीमा उद्योग खोलेका हुन् । उद्योगमा दुई लाख रुपैयाँ लगानी गरेका छन् । दुना–टपरीबाट ३६ घरपरिवारका महिलाको आर्थिक उपार्जन बलियो बनेको छ । गत फागुनबाट सञ्चालनमा ल्याइएको उद्योगबाट उत्पादित दुना–टपरी कैलालीका विभिन्न ठाउँमा बिक्री हुने गरेका छन् । सामूहिक रूपमा सञ्चालन गरेको उद्योगमा दैनिक एक हजार दुना–टपरी उत्पादन भइरहेको र प्रतिटपरी ३ रुपैयाँ , दुनाको १ रुपैयाँमा बिक्री हुने गरेको फूलबारी दुना–टपरी उद्योगकी उद्यमी सरिताले बताउनु भएको छ ।
स्थानीय ३६ वर्षीया मनकला विष्टले पात संकलन गरेर घरखर्च चलाउनु भएको छ । उद्योग सञ्चालन गर्न गाउँका महिला पात संकलन गर्ने काममा खटिन्छन्। दुना–टपरी बढी धार्मिक कार्यमा बढी प्रयोग हुने भएकाले ब्रतबन्ध, विवाह, पास्नीजस्ता कार्यमा प्रयोग हुने गरेका छन्।
स्थानीय सरकारले प्लाष्टिक विस्थापित गर्ने रणनीति लिए पनि दुना–टपरी बनाउने काममा भने सहयोग नगरेको उद्यमी भावनाले बताउनु भएको छ । उद्योग सुरु गरेको झण्डै एक वर्षमै त्यति ठूलो उपलब्धी गर्न नसके पनि घर खर्च गर्न सक्षम भएको उहाँको भनाइ छ । सालको दुना–टपरी प्रयोग गर्दा हुने फाइदाका बारेमा मात्र थाहा पाउन सके पनि धेरै बजार पाउने भावनाको भनाइ छ ।

 

Comment