अलैंची व्यवसायीले अलैंची निकासी र बजारमा सरकारले ध्यान नदिएको गुनासो

काठमाडौं ७ माघ । झापाका अलैंची व्यवसायीले अलैंची निकासी र बजारमा सरकारले ध्यान नदिएको गुनासो गरेका छन् । अलैंचीको मूल्यमा आएको गिरावटका कारण नेपालको अर्थतन्त्रमा नकारात्मक असर पर्दासमेत सरकारले निकासी र बजारमा ध्यान नदिएको उनीहरुको भनाइ छ । 
झापाको बिर्तामोडमा निर्माण गर्न लागिएको अलैंची व्यवसायी महासंघ केन्द्रीय कार्यालयको भवन शिलान्यास कार्यक्रममा सहभागी व्यवसायीले अलैंची व्यवसायीको पहलमा मात्रै हालसम्म अलैंचीको बिक्री वितरण भइरहेको दाबी गरेका छन् । आफैं बजार खोज्नुपर्ने, भारतीय व्यापारीसँग सम्झौता र आएका समस्या आफैं समाधान गर्नुपर्ने अवस्थाका कारण नेपालको अलैंचीले राम्ररी बजार नपाएको उनीहरुको गुनासो छ । अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मलकुमार भट्टराईले अलैंची उत्पादनमा कृषकलाई सरकारले केही साथ दिए पनि उत्पादन पछि अन्तर्रा्ष्ट्रिय बजारसम्म र्पुयाउने भूमिका खेल्न नसकेको आरोप लगाए । उनले व्यवसायीका समस्या सम्बोधन गर्न केन्द्र र प्रदेश सरकार अझै नलागेकोमा आपत्ति जनाए ।

 

Comment