अमेरिकन फौजी किरा नेपालमा पहिलो पटक भेटियो, नेपाल कृषि अनुसन्धान परिषद् नार्कद्धारा नवलपरासीमा भेटिएको पृष्टि

काठमाडौं १२ जेष्ठ । विभिन्न बालीनालीमा सिधै आक्रमण गर्न सक्ने विध्वन्सकारी अमेरिकन फौजी किरा नेपालमा पहिलो पटक भेटिएको छ । अन्यबाली भन्दा मकैमा सबै भन्दा बढी आक्रमण गर्ने अमेरिकन फौजा किरा नेपाल पहिलो पटक भेटिएको नेपाल कृषि अनुसन्धान परिषद नार्कले पृष्टि गरेको हो । 
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क ) अन्तगर्त किट बिज्ञान महाशाखाका वैज्ञानिकहरुको टोलीले नवलपरासी जिल्लाको गैडाकोट क्षेत्रबाट यही बैशाख २६ गते नेपाल पहिलो पटक आक्रमणकारी अमेरिकन फौजी किरा भेटिएको आइतवार नार्क परिसरमा आयोजित पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो । 
आयोजित पत्रकार सम्मेलनमा किट विज्ञान महाशाखाका प्रमुख डाक्टर प्रेम निधि शर्माले नार्क अन्तगर्तको किट विज्ञान महाशाखाका वरिष्ठ वैज्ञानिक रत्न बज्राचार्य तथा प्राविधि अधिकृत बिनु भाटको टोलीले उक्त किराको पहिचान गरि प्रयोगशालामा अध्यन गरि खतरनाक फौजी किरा नै भएको पृष्टि गरिएको जानकारी दिनुभयो । 

किराको रोकथामका लागि जथाभावी रुपमा अनुपयुक्त बिषादीहरु प्रयोग गर्नले मानव तथा पशुपंक्षीको स्वास्थ्यमा नकारात्मक असर पार्नुका साथै अमेरिकन फौजी किराले भविष्यमा बिकाराल रुप लिन सक्ने खतरा रहेको भन्दै प्रमुख शर्माले आम किसानलाई सचेत रहन आग्रह पनि गर्नुभयो । 
खतरनाक अमेरिकन फौजी किराले नोक्सानी गरेको अवस्थामा नेपाली किसानहरुको खाद्य सुरक्षा तथा आर्थिक अवस्थामा समेत असर गर्ने भएको हुँदा यसको समुचित व्यवस्थापन तथा रोकथामका लागि एक साता भित्र विभिन्न विकल्प निकाल्न वैज्ञानिकहरुको टोली सक्रिय रहेको जानकारी पनि दिनुभयो । 
अमेरिकी महादेश बाहिर अफ्रीकी महादेशको नाइजेरियामा पहिलो पटक सन  २०१६ को जनवरी महिनामा देखा परे पश्चात यो किरा ४० अफ्रीकी मुलुकमा फैलीसकेको छ भने एशिया महादेशमा पहिलो पटक सन २०१८ को मई महिनामा भारतको कर्नाटक राज्यमा उक्त किरा भेटिएको थियो । तत्पश्चात अमेरिकन फौजी किरा श्रीलंका, म्यानमार, भियतनाम, थाइल्याण्ड तथा चीनमा समेत भेटिसकेको आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । 

Comment