अनुदानमा पाएको गहुँको बीउ नउम्रेपछि किसान मर्कामा

काठमाडौं २२ पुस । स्थानीय तहबाट कृषि अनुदानमा पाएको गहुँको बीउ खेतमा नउम्रेपछि किसान मर्कामा परेका छन् । किसानहरूले बीउ कमसल भएको भन्दै सम्बन्धित निकायबाट छतिपूर्ति मागेका छन् । 
जिल्लाको २० वटै स्थानीय तहले किसानलाई अनुदानमा गहुँको बीउ बाँडेको थियो । सूचना प्रकाशित गरी अनुदानको बीउ सप्लाई गर्न आह्वान गरेपछि सप्लायर्सले रौतहटको गौर नगरपालिका १३ स्थित राजदेवी बीउ उद्योगबाट गहुँको बीउ उपलब्ध गराएको थियो । त्यही बीउ नगरपालिका तथा गाउँपलिकाले किसानलाई बाँडेका थिए ।
स्थानीय तहबाट अनुदानमा पाएको गहुँको बीउ नउम्रेको किसानको गुनासो छ । खेतमा छरेको गहुँको बीउ नउम्रिँदा आफूहरू मारमा परेको पिपरियाका किसान बिन्दा रायले बताउनु भएको छ । 
समान्यतया नौ दिनमा उम्रिने गहुँको बीउ २० दिन बित्दासमेत उम्रेको छैन । खेतमा गहुँ नउम्रिँदा कतिपय किसानले धमाधम घरमा राखेको पुरानो गहुँ छरिरहेका छन् ।
उखु खेती हटाएर गहुँ खेती गरेका किसानको झन् बिजोग भएको छ । आधाभन्दा कम मूल्यमै सक्खर बनाउने क्रसर उद्योगलाई उखु बेचेर गहुँ खेती गरेका किसान भने दोहोरो मारमा परेका छन् । ‘गहुँ बाली लगाउनका लागि उखु आधाभन्दा कम मूल्यमा बिक्री गरें तर गहुँको बीउ उम्रेन उता उखुमा घाटा, यतागहुँमा पनि घाटा खानुपरेको सिर्सियाका किसान रामहुलास यादवले बताउनु भएको छ ।
कतिपय किसान स्थानीय तहले उपलब्ध गराएको गहुँको बीउ नपाएर पछुतो मान्दै आफ्नै घरमा रहेको पुरानो गहुँ छरेका थिए । उनीहरुको भने गहुँको बीउ उम्रेको छ । अनुदानको बीउ नपाएर पछुतो मानेको तर सँधियारको पीडा देखेर आफू पनि ठूलो पीडाबाट जोगिएको स्थानीय बद्री पण्डितले बताउनुभएको छ । यता स्थानीय तहहरूले कमसल बीउ उपलब्ध गराउने उद्योग र सप्लायर्सलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् ।(कान्तिपुर दैनिक)

Comment