अदुवाको राम्रो मुल्य पाएपछि किसान खुशी

काठमाडौं १५ । उदयपुरका किसानले उत्पादन गरेको अदुवा किन्न व्यापारी बारीमै पुग्ने गरेसंगै किसानले अदुवाको मूल्य राम्रो पाएको छन् ।
कटारी नगरपालिका हर्देनीलगायत क्षेत्रका किसानले यो मौसममा करिब सात करोड रुपैयाँको अदुवा बिक्री गरेका छन् । हर्देने, गहुँबारी, बेतेनी, गोठडाँडा क्षेत्रका किसानले उत्पादन गरेको अदुवा स्थानीय बजारमै प्रतिकिलो ८५ रुपैयाँका दरले बिक्री भइरहेको छ ।
विगतमा अदुवाको मूल्यमा भएको उत्तरचढाव र बिचौलियाका कारण राम्रो मूल्य नपाएका अदुवा उत्पादक किसानले यस वर्ष यो मौसममा सोचेभन्दा बढी मूल्य परेपछि खुशी भएका छन् । चार वर्षअघि न्यूनतम १ लाखदेखि बढीमा १० लाखसम्म घरैपिच्छे आम्दानी गर्न सफल भएपछि त्यहाँका किसानले परम्परागत अन्न बालीको सट्टा पूरै गाउँभरि नै अदुवा खेती गरेको हर्देनीका किसान नरबहादुर राउतले बताउनु भएको छ । व्यावसायिक खेती गरेपछि पछिल्लो दुई वर्ष अदुवाले राम्रो मूल्य पाएन तर यो वर्ष र दुई वर्षअघिसम्म अदुवा बिक्रीबाट राम्रो आम्दानी गरेको राउत बताउनु हुन्छ ।
चौडण्डीगढी र कटारी नगरपालिका, ताप्ली, रौतमाई र उदयपुरगढी गाउँपालिकका किसानले अदुवाको बिक्रीबाट सोचेभन्दा बढी आम्दानी गर्दै आएको कटारी नगरपालिका ११ का वडाध्यक्ष दीपक बुढाथोकीले बताउनु भएको छ ।

 

Comment