भारततर्फ तस्करी निरुत्साहित गर्न भन्सार वृद्धि गरेपछि तेस्रो मुलुकबाट सुपारी आयात ह्वात्त घटयो,

भारततर्फ तस्करी निरुत्साहित गर्न भन्सार वृद्धि गरेपछि तेस्रो मुलुकबाट सुपारी आयात ह्वात्तै घटेको छ। भारतको निरन्तर दबाबपछि आर्थिक वर्ष २०७२र०७३ देखि सुपारी आयातमा भन्सार शुल्क वृद्धि गरिएको थियो।
अर्थमन्त्री युवराज खतिवडाले ल्याएको बजेटमा सुपारी आयातमा पाँच प्रतिशत भन्सार महसुल बढाएका थिए । चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा ८ सय ११ टन मात्रै सुपारी विराटनगर नाका हुँदै भित्रिएको छ। गत वर्ष ५ हजार ८ सय ९० टन सुपारी आयात भएको थियो।यसअघि भन्सार महसुलबापत प्रति किलो ४५ रुपैयाँ र भ्याट १३ प्रतिशत रहेको सुपारीमा ५ प्रतिशत महसुल थपिएपछि आयात घटेको हो।
आर्थिक वर्ष २०७१र७२ मा विराटनगर नाकाबाट सुपारीको पैठारी ३७ हजार मेट्रिक टन भएको थियो । सरकारले पैठारीमा कडाइ गरेपछि आव २०७२र७३ देखि सुपारीको आयात घट्न थाल्यो। सुपारीको आयातमा सरकारले आर्थिक वर्ष २०७१र०७२ सम्म भन्सार महसुलवापत प्रति किलो ३० रुपैयाँ र भ्याट १३ प्रतिशत लिँदै आएको थियो । आर्थिक वर्ष २०७२र०७३ देखि प्रति किलो ३० रहेको महसुललाई बढाएर ४५ रुपैयाँ बनाएपछि आयात घट्यो।
मोरङ व्यापार संघका पूर्व अध्यक्ष एवं सुपारीका मूख्य आयातकर्तामध्ये एक खेमचन्द लालबानीका अनुसार सबै खर्च र राजस्व तिरेर सुपारी ल्याउँदा मूल्यबाहेक प्रति किलो ९० रुपैयाँ खर्च लाग्छ । ‘हामीसित किनेर लगेको सुपारी कारोबारीले अनधिकृत रूपमा भारत पुर्याउँछन’, व्यवसायी लालबानीले भने, ‘कारोबारीले अनधिकृत निकासी गर्दाको खर्च पनि प्रति किलो भारु ६० देखि ६५ पर्छ । यसरी एक किलो सुपारीको खर्च नै १ सय ९० को हाराहारीमा परेपछि भारततर्फको अनधिकृत निकासी पनि बन्द भएको छ ।
नेपालमा सुपारीको मूल्य हाल प्रति किलो २५० रुपैयाँ र भारतमा भारु २२० अर्थात् नेरु ३५० रहेको छ ।  भारतमा प्रति किलो एक सय रुपैयाँको फरक हुँदा पनि सुपारीको पैठारी र कारोबार नबढ्नुको कारण भन्सारको अधिक खर्च नै हो । 
नेपालबाट अनधिकृत रूपमा भारततर्फ सुपारी जान बन्द भएपछि बर्माबाट जान थालेको स्रोतको दाबी छ । बर्मामा सुपारीको भन्सार महसुल प्रति किलोग्राम २५ रुपैयाँ मात्र भएकाले त्यहाँबाट भारतका बजारमा सुपारी पुयाउँदा नाफा हुन थालेको छ । सुपारी मुख्यतः इन्डोनेसिया र थाइल्यान्डबाट पैठारी गरिन्छ । रजनीगन्धा, पान पराग र विभिन्न प्रकारका गुट्खा उत्पादन गर्न सुपारी अनिवार्य कच्चा पदार्थ हो ।भारतको उत्तर प्रदेशस्थित कानपुर र नाकपुर सुपारीका मुख्य बजार हुन् ।इन्डोनेसियाभन्दा थाइल्यान्डको सुपारीको गुणस्तर राम्रो हुन्छ ।

 

Comment