बजारको समस्याका कारण दुग्ध उत्पादक निरास

काठमाडौं ८ पुस ।  उचित मूल्य, पर्याप्त सरकारी अनुदान र बजारको समस्याका कारण दुग्ध उत्पादक निरास देखिन्छन् । दूध व्यवसायबाट किसान तल पर्दै गएको र दूध खरीद गर्ने व्यवसायी भने मोटाउँदै गएको किसानको गुनासो छ । 
दुग्ध उत्पादक कृषकलाई प्रोत्साहन गरिएमा अझै भारतबाट ठूलो परिमाणमा दूध आयात गर्नुपर्ने वाध्यताको अन्त्य हुने दुग्ध उत्पादक किसान सङ्घ बाँकेले जनाएको छ । दुधबाट बाँके जिल्ला आत्मनिर्भर हुन थालेको पशु सेवा कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार दूध उत्पादन बढेपछि भारतबाट आउने दूधको माग घट्दै गएको छ ।
 किसानले विभिन्न खरीद केन्द्रमा जम्मा गरेको दूध कोहलपुरको पिपरीस्थित दुग्ध विकास आयोजनाले खरीद गरेर ल्याउने गरेको छ । त्यसका लागि ठाउँ ठाउँमा खरीद केन्द्र स्थापना गरिएका छन् । बाँके जिल्लामा दैनिक करीब दुई लाख लिटर दूध उत्पादन हुने गरेको छ । जिल्ला पशु सेवा कार्यालय बाँकेका अनुसार जिल्लामा दैनिक एक लाख ९८ हजार ७८० लिटर दूध उत्पादन हुन्छ । पशु कार्यालयका अनुसार जिल्लाबाट दैनिक तीन हजार लिटर दूध राजधानी समेत जाने गरेको छ । यातायातको असुविधाले नेपालगञ्ज ल्याउन नसक्दा जिल्लाको विकट तथा राप्तीपारिको क्षेत्रबाट दैनिक एक हजार लिटर दूध भारतमा बिक्री हुने गरेको छ । जिल्लाको फत्तेपुरमा एक हजार ६०० लिटर बराबरको दूधबाट खुवा बनाएर बिक्री गरिन्छ । दूधमा रहेको चिल्लोको मात्रा अनुसार मूल्य निर्धारण गरिने गरिएको पशु सेवा कार्यालयले जनाएको छ । अहिले किसानले पाइरहेको मूल्य धेरै कम र धेरै बढी पनि दुबै नरहेको ठहर गर्दै मूल्यवृद्धिको पक्षमा आफू पनि रहेको कार्यालयको भनाइ छ । 

 

Comment