बजारमा वितरण हुने खाद्य तथा पेय पदार्थमा अत्यधिक मिसावट

काठमाडौं २५ चैत्र । बजारमा वितरण हुने खाद्य तथा पेय पदार्थमा अत्यधिक मिसावट हुने गरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अध्ययनका क्रममा बजारमा वितरण हुने प्रशोधित पानी, दुग्ध पदार्थ र खाद्य पदार्थमा मिसावटको मात्रा उच्च रहेको पाइएको हो । कमजोर बजार अनुगमन र फितलो कारबाहीको फाइदा उठाउँदै व्यवसायीले गुणस्तरहीन उत्पादन तथा बिक्री वितरण गरिरहेका छन् । गुणस्तरहीन उत्पादनले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असरसमेत पार्ने गरेको छ ।
पछिल्लो आठ महिनामा विभागले गुणस्तरहीन खाद्य तथा पेयपदार्थ उत्पादन गर्ने १ सय ३६ वटा उद्योगविरुद्ध कारबाहीका लागि मुद्दा दायर गरेको हो । न्यून गुणस्तरका वस्तु उत्पादन गर्ने घ्यू–तेलका ३३ वटा उद्योगलाई कारबाहीका लागि मुद्दा दायर गरिएको छ । यस्तै, ३४ वटा प्रशोधित पानी उद्योगलाई कारबाहीका लागि मुद्दा दायर गरिएको विभागले जानकारी दिएको छ । कुखरा तथा गाई भैंसीका दाना, दुग्धजन्य उद्योगसँगै अन्य खाद्य उद्योगलाई समेत कारबाहीका लागि मुद्दा दायर गरिएको छ । विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले दूषित उत्पादन गर्ने उद्योगलाई खाद्य ऐनअनुसार कारबाहीका लागि मुद्दा दायर गरिएको बताउनु भएको छ । विभागका अनुसार दूषित पानी उत्पादन गर्ने बोलबल प्योर ड्रिकिङ वाटर, माता सरस्वती खानेपानी प्रा.लि, पन्च वेभरेज प्रालि, गंगा खानेपानी उद्योग, गोर्खा वेभरेज प्रालि, सुधा जल उद्योग प्रालि, सगरमाथा फुड एण्ड वेभरेज प्रालि, कृष्ण वेभरेज प्रालि, आइसल्याण्ड ड्रप, जल उद्योग, अगम वेभरेज इन्डस्ट्रिज, डीएस मिनरल वाटर, नारायण पेयजल उद्योग, दुर्गाभवानी मिनरल एण्ड वेभरेजलाई कारबाहीका लागि मुद्दा दायर गरिएको छ । 
यस्तै, जय दुर्गा मिनरल वाटर उद्योग, श्रीजल उद्योग, गोमारानी उद्योग, जेएमसी वाटर इन्डष्ट्रिज, पशुपति ड्रिकिंङ वाटर इण्डष्ट्रिज, पूजा फुड एण्ड वेभरेज प्रालि, जोनसन जल उद्योग, मंगलम वेभरेज उद्योगले दुषित पानी उत्पादन गरेकाले कारबाही गरिएको छ । अधिकांश पानी उद्योगमा पीएच (अम्लियपन)को मात्रा कम, कोलिफर्मको मात्र पाइएको तथा न्यून गुणस्तरको रहेको पाइएको छ । 
यस्तै, कृष्ण आयल एन्ड रिफायनरी इन्डस्ट्रिजबाट उत्पादित वनस्पति घ्यू, सनफ्लावर तेल, सोयाविन तेल, पामोलिन तेल र तोरी तेल खानै नहुने अवस्थामा भेटिएको छ । यो उद्योगबाट उत्पादित खानेतेल र घ्यू न्यून गुणस्तरको पाइएको छ । मिसावट गरेर उत्पादन गरिएका यस्ता खानेतेलको उपभोग गर्दा मानव स्वास्थ्यमा जटिल प्रकारका रोग लाग्ने चिकित्सक बताउँछन् । यस्ता तेल प्रयोगले झाडापखाला, फुड प्वाइजन, टाइफाइड, कमलपित्त, पाचनप्रणाली, कलेजो र मिर्गौलासम्बन्धी रोग लाग्न सक्छ । यस्तै, नारायणी आयल इन्डस्ट्रिजबाट उत्पादित सूर्यमुखी र तोरी ब्रान्डको तेल पनि गुणस्तरहीन अवस्थामा फेला परेको छ । यो उद्योगविरुद्ध विभागले दुई मुद्दा दायर गरेको छ । यसैगरी, एग्रो प्रोसेसिङको तोरी तेल र सूर्यमुखी तेलविरुद्ध तीन मुद्दा र शिवशक्ति घ्यू उद्योगको वनस्पति घिउ र सूर्यमुखी तेलविरुद्ध दुई मुद्दा दायर भएको छ ।यस्तै, आदर्श आयल इन्डस्ट्रिजबाट उत्पादित तोरी तेल, गणपति वनस्पतिको सूर्यमुखी तेल, अन्नपूर्ण भेजिटेबल प्रोडक्टको वनस्पति घ्यू, जय माँ लक्ष्मी डेरी उद्योगको घ्यू,, मनकामना एग्रो प्रोसेसिङको तोरी तेल, बौद्धनाथ घ्यू उद्योगको घ्यू र मिल्क फुड डेरी प्रोडक्टको घ्यूविरुद्ध एक(एक मुद्दा दायर भएको छ ।
विभागले नियमित रूपमा बजार अनुगमन गरेर खाद्य तथा पेय पदार्थको नमुना संकलन गर्ने गर्छ । नमुना परीक्षण गरेपछि दूषित उत्पादन गर्ने खाद्य तथा पेय पदार्थलाई विभागले खाद्य ऐनअनुसार कारबाही गर्दै आएको छ ।(कारोबार दैनिक)

 

Comment