गर्मीयामसँगै उखु सुक्न र खर्च बढ्दै जाँदा उखु किसान लगानी डुब्ने चिन्तामा

काठमाडौं २५ चैत्र । गर्मीयामसँगै उखु सुक्न र खर्च बढ्दै जाँदा किसान लगानी डुब्ने चिन्तामा परेका छन्। चिसोमा भन्दा अहिले उखु तयार गर्न ४० प्रतिशत भन्दा बढी लाग्ने किसानको भनाइ छ। खेतमा उखु सुक्दै गएपछि लगानी पनि उठ्दैन किभन्ने त्रास किसानमा छ ।
 मेथुरापुरका किसान महेन्द्र यादवले चिसोमा सय क्विन्टल बिक्रीगर्न आठ हजार रुपैयाँखर्च हुने तर गर्मी सुरु भएपछि खर्च बढेर १२ हजार जतिपुगेको जानकारी दिनुभएको छ । चिसोमा खेतबाट उखु काटेर टेलरमा लोड गर्दासम्म मजदुरलाई प्रतिक्विन्टल ७० देखि ८० रुपैयाँलिने गरेकामा अहिले एक सय २० देखि एक सय ४० रुपैयाँसम्म तिर्नुपर्ने बाध्यता रहेको यादवले बताउनु भएको छ ।
सिजनमा ढिलो गरी चिनीमिल सञ्चालन गर्ने र जेठ महिना सम्म उखु खेतमै राख्न बाध्य पारिएको गुनासो यादवको छ। मंसिर पहिलो साता सञ्चालन हुनुपर्ने चिनी मिल पुस अन्तिम सातादेखि सञ्चालन गरिँदा गर्मीले खेतको उखु सुक्दै गएको र तयारी खर्च बढ्दै गएको किसान यादवले बताउनु भएको छ । चिसोभन्दा गर्मीमा खरिद गरिएको उखुबाट बढी चिनी उत्पादन हुने भएकाले मिल सञ्चालकले ढिलो गरेको किसानको भनाइ छ।कलैया उपमहानगरपालिका–२४ श्रीपुर स्थित रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिजले खरिद गर्नका लागि रोप्न लगाएको करिब १२ लाख क्विन्टल उखु खेतमै रहेको मिलले जनाएको छ ।

रिलायन्सका उखु प्रबन्धक ओमप्रकाश शुक्लाले गर्मीमा किसानबाट उखु खरिद गरेर क्रसिङ गर्दा चिनी मिललाई कुनै नाफा नहुने बताउनु भएको छ ।  चालु सिजनमा चिनी मिलको कारणले नभई उखुको मूल्य विवादले मिल सञ्चालनमा ढिलाइ भएको शुक्लाले बताउनु भएको छ । यसले उखु किसान र उद्योगीदुवैलाई घाटा भएको  शुक्लाले बताउनु भएको छ । अहिले चिनी मिलले बारा, पर्साका किसानको १९ लाख क्विन्टल जतिउखु खरिद गरी क्रसिङ गर्न बाँकी रहेको शुक्लाले बताउनु भएको छ ।  चालु सिजनमा बारा,पर्साका ११ हजार किसानले १४ हजार बिघा क्षेत्रफलमा लगाएको उखुको उत्पादन ३२ लाख क्विन्टल पुग्ने चिनीमिल सञ्चालकको अनुमान छ ।(नागरिक दैनिक)

Comment