४६ जना जडीबुटी व्यवसायीले जडीबुटी सङ्कलनका लागि अनुमतिपत्र

काठमाडौं ८ पुस । सामुदायिक र राष्ट्रिय वनबाट जडीबुटी व्यवसायीले बाजुराका मार्तडीमा विभिन्न नौ स्थानीय तहमा रहेका जडीबुटी सङ्कलन गर्न पूर्जी पाएका छन् । जडीबुटी सङ्कलनका लागि जिल्लाका हिमाली गाउँपालिका, खप्तड छेडेदह गाउँपालिका, गौमूल गाउँपालिका बूढीनन्दा नगरपालिका, त्रिवेणी नगरपालिका र बडीमालिका नगरपालिकाका वनहरुबाट जडीबुटी सङ्कलन गर्नका लागि ४६ जना जडीबुटी व्यवसायीले अनुमतिपत्र लिएको डिभिजन वन कार्यालय बाजुराले जनाएको छ।
 जिल्लाका हिमाली गाउँपालिकाको साविकको बिच्छ्या र रुगिन, गौमुल गाउँपालिकाको दहकोट, बूढीनन्दाको कोल्टी, पाण्डुसैन, बडीमालिका नगरपालिका र त्रिवेणी नगरपालिकाको केही भागमा विभिन्न आठ बढी प्रजातिका जडीबुटी सङ्कलनका लागि व्यवसायीले सङ्कलन पूर्जी लिएको डिभिजन कार्यालय बाजुराले बताएको छ। जिल्लाका सामुदायिक र राष्ट्रिय वनबाट मङ्सिर र पुस महिनामा चिराइतो, पाषणभेद, कटुकी प्रजातिका जडीबुटी सङ्कलन गर्न व्यवसायीहरु कार्य क्षेत्रमा गएको बताइएको छ । यसैगरी टिमुर, रिठा, सुगन्धवाल सङ्कलन गर्ने कार्य भइरहेको डिभिजन वन कार्यालय बाजुराका प्रमुख भीमप्रसाद कँडेलले जानकारी दिनुभएको छ । जिल्लाका दर्ता भएका ४६ जडीबुटी व्यवसायीले डिभिजन वन कार्यालयबाट जडीबुटी सङ्कलन अनुमति लिएर सामुदायिक वन र राष्ट्रिय वनमा सङ्कलन गर्न थालेको तथा पछिल्लो समयमा जिल्लामा पाँचऔँले, जटामसी र सेतक चिनी प्रजातिका जडीबुटी सङ्कलनमा रोक लगाइएको डिभिजन प्रमुख कँडेलको भनाइ छ।
जिल्लामा सङ्कलन गरिने विभिन्न प्रजातिका जडीबुटीबाट हरेक वर्षमा रु आठ लाखदेखि २२ लाखसम्म राजस्व सङ्कलन हुने गरेको बताइएको छ । फरकफरक प्रजातिका जडीबुटीबाट प्रतिकेजी १३ रुपैयाँ देखि २५ हजार रुपैयाँमा बिक्री हुने गरेको पाइएको छ । नौ स्थानीय तहमध्ये गौमुल गाउँपालिकाले पाँच वर्षसम्म कुनै पनि प्रजातिका जडीबुटी सङ्कलन गर्न प्रतिबन्ध गरेको छ। जडीबुटी व्यवसायीले मनोमानीरुपमा निकाल्ने गरेकाले गाउँपालिकाले जडीबुटी सङ्कलनमा रोक लगाएको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताउनु भएको छ । जिल्लामा विभिन्न मौसममा विभिन्न प्रजातिका जडीबुटी सङ्कलन हुँदा जडीबुटीको बीउसमेत नपाइने अवस्था रहेको पाइएको छ ।

 

Comment