कुखुरापालन गर्ने व्यवसाय बढ्दै जाँदा मकैको आयात बढ्यो

काठमाडौं १९ पुस । पछिल्लो समय कुखुरापालन गर्ने व्यवसाय बढ्दै जाँदा मकैको आयात पनि बढेको छ । कुखुराको दानामा आधाभन्दा बढी कच्चा पदार्थका लागि मकै नै चाहिने तर स्वदेशको उत्पादन पर्याप्त नभएकाले मकै आयात गरिएको कृषि विभाग अन्तर्गतको बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ ।
कुखुरापालनमा लाग्ने किसानको संख्या ह्वात्तै बढे पनि त्यसको अनुपातमा मकैको उत्पादन वृद्धि नभएको वरिष्ठ बाली विकास अधिकृत प्रकाश आचार्यले बताउनु भएको छ । आचार्यले किसानलाई आकर्षित गर्ने खालका कार्यक्रम गरेर पनि मकैको उत्पादन बढाउनुपर्ने बताउनु भएको छ ।
नेपालको मुख्य तीन बालीमा धान र गहुँसँगै मकै पर्छ । तराईदेखि भित्री मधेश र उच्च पहाडी क्षेत्रमा समेत मकैखेती हुँदै आएको छ । दिनदिनैको खानामा मकैको प्रयोग केही मात्रामा बढेको छ भने कुखुराका आहाराका लागि पनि बढी मात्रामा मकैको आवश्यकता पर्छ । देशभरमा मकैको उत्पादन प्रतिहेक्टर तीन टन छ ।

Comment