कालिकोटको बरातु गाउँ अर्गानिक कृषि गाउँका रूपमा परिचित बन्दै

काठमाडौं ३१ बैशाख । कालिकोटको खाँडाचक्र नगरपालिका–११ बरातु गाउँ अर्गानिक कृषि गाउँका रूपमा परिचित भएको छ । तरकारी खेतीमा रासायनिक मलको प्रयोग अत्यधिक मात्रामा बढीरहेका बेला बरातु गाउँले रासायनिक मलको प्रयोग शून्य गरेर अर्गानिक कृषि खेती तथा विषादीमुक्त कृषि खेतीमा आत्मनिर्भर बनेको हो ।
अर्गानिक कृषि नै कर्णालीको आत्मनिर्भरता र दिगो विकासको मूल मर्म हो भन्ने उद्देश्यका साथ बरातुमा प्राङ्गारीक कालिकोट विषयक अन्तक्र्रिया तथा अवलोकन कार्यक्रम गरिएको छ । प्रायजसो कार्यक्रम सदरमुकामका ठूला होटलमा भइरहेका बेला कर्णाली कृषि तथा खाद्य सरोकार समूह (कफाग) कालिकोटले जिल्लाका विकट मानिने अर्गानिक गाउँ बरातुका किसानसँग अन्तक्र्रिया गरेको हो । जैविक कृषि मानव स्वास्थ्य, दीर्घ जीवन र समग्र जैविक प्राणालीको अत्यन्तै आवश्यक भएकाले जनचेतना जोगाउन गाउँमै चेतनामूलक कार्यक्रम राखिएको हो । कार्यक्रममा खाँडाचक्र नगरपालिका प्रमुख जसीप्रसाद पाण्डेले अर्गानिक खाद्यान्न तथा फलफूलको व्यावसायिक उत्पादन गरी बजारमा लिने कृषकलाई नगरपालिकाले ढुवानी अनुदान दिने बताउनु भएको छ । पाण्डेले खाँडाचक्र नगरपालिकामा अर्गानिक मल कारखानाका लागि पहल भइरहेका जानकारी दिनुभएको छ । कफाग कालिकोटका संयोजक कालीबहादुर मल्लले मानव सभ्यताका लागि प्राङ्गारिक कृषिका विषयमा ब्यापक बहस गर्दै कर्णाली प्राङ्गारिक प्रदेश अभियान सफल पार्नुपर्ने बताउनु भएको छ । खाँडाचक्र नगरपालिका–११ का अध्यक्ष पुष्पराज गिरीले बरातु मात्र नभएर नगरपालिकाका सवै वडा अर्गानिक अभियानमा लाग्नुपर्ने भनाई राख्नु भएको छ ।(कारोवार दैनिक)

 

Comment