किसानले चक्लाबन्दी खेती नगर्दा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धान सुपर जोन प्रभावकारी कार्यान्वयनमा कठिनाइ

काठमाडौं १२ चैत्र । किसानले चक्लाबन्दी खेती नगर्दा जिल्लामा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धान सुपर जोन प्रभावकारी कार्यान्वयनमा कठिनाइ भएको छ ।
धान सुपर जोन तेस्रो वर्षमा सञ्चालित कचनकवल गाउँपालिका क्षेत्रमा करिब दुई हजार हेक्टर क्षेत्रफलमा जोन कार्यान्वयनमा छ । परम्परागत खेती गर्दै आएको कचनकवल गाउँपालिका क्षेत्रमा सुपर जोन कार्यान्वयनपछि किसान आधुनिकीकरणतर्फ आकर्षित भएपनि चक्लाबन्दी खेती नगर्दा भने जोनको मुख्य लक्ष्य हासिल गर्न कठिन भइरहेको सुपर जोन कार्यान्वयन इकाई कार्यालय बनियानीले जनाएको छ ।
पृथ्वीनगर, बनियानी, पाठामारी, बालुबाडी, पथरिया, केचना र घेराबारीका गरी २ हजार २ सय घरधुरीका किसान सुपर जोनमा आबद्ध छन् । ती घरधुरीका किसान १ सय १० समूह र सहकारीमा संलग्न छन् । किसान सुपर जोनअन्तर्गत खेती गर्न समूह र सहकारीमा आबद्ध भए पनि चक्लाबन्दी खेतीतर्फ तयार देखिएका छैनन् । धान सुपर जोन कार्यान्वयन इकाई कार्यालयका कृषि अधिकृत सागर विष्टले ‘चक्लाबन्दी खेती गर्न नसके सुपर जोनको लक्ष्य हासिल गर्न नसकिने बताउनु भएको छ ।
चक्लाबन्दी खेती गर्न सके किसानले आफ्नो खेतबाट बढी आम्दानी लिन सक्ने विष्टको भनाइ छ । माटोको लेभल नमिल्दा खेतमा बराबरी गरी सिँचाइ गर्न नसकिएको विष्टले बताउनु भएको छ । किसान इच्छुक नहुँदा खेत चक्लाबन्दी गर्न नसकिएको धान सुपर जोन सञ्चालक समिति सचिव भागिरथा प्याकुरेलले बताउनु भएको छ । स्थानीयवासी नौलो भविष्य साना किसान सहकारी संस्थाको पहलमा २२ जना किसानले सामूहिक खेती सुरु गरेका हुन । उनीहरूले ८५ बिघा जमिनमा सामूहिक खेती सुरु गरेका हुन । चक्लाबन्दी नहुँदा ट्याक्टर तथा ठूला मेसिनको प्रयोगबाट खेती गर्दा खर्चिलो हुने गरेको छ । सबै खेतमा सिँचाइ र्पुयाउन बढी पानी खपत हुने गरेको छ । ठूलो परिमाणमा उत्पादन लिन तथा कृषिलाई पूर्ण रूपमा आधुनिकीकरण गर्न चक्लाबन्दीको विकल्प नभएको सुपर जोन कार्यान्वयन इकाई कार्यालयको निष्कर्ष छ । कार्यालयले चक्लाबन्दी गर्न किसानलाई अनुदान दिन सरकारसँग बजेट माग गरेको अधिकृत विष्टले बताउनु भएको छ । जिल्लामा गौरादह नगरपालिकास्थित महारानीझोडा साना किसान कृषि सहकारी संस्थाद्वारा प्रवर्द्िधत नमुना एकीकृत खेतीमा चक्लाबन्दी गरी खेती गरिँदै आएको छ । सहकारीको पहल तथा अगुवाइमा किसानले आआफ्नो खेत जिम्मा लगाएका छन् । त्यहाँ एक सय हेक्टर जमिनमा चक्लाबन्दी गरिएको छ ।(कान्तिपुर दैनिक)

 

Comment