कञ्चनपुरमा रातो केराको परिक्षण खेति शुरु , ‘सुगर फ्री’ का रूपमा चिनिने यो केराको नेपालमै पहिलो पटक खेती गरिदै

काठमाडौं ११ चैत्र । कञ्चनपुरमा रातो केराको खेती सुरु भएको छ । ‘सुगर फ्री’ का रूपमा चिनिने यो केराको नेपालमै पहिलो पटक खेती सुरु गरिएको हो ।  क्याल्सियम र चिनीको मात्रा कम हुने भएकाले मधुमेहका बिरामीका लागि उपयुक्त मानिने यो केराको बोट र फल दुवै रातो हुन्छ ।
अन्य केराकै समयअनुसार फल्ने र त्यस्तै हुने यसको बोट भने निकै आकर्षक देखिन्छ । केरा उत्पादन तथा प्रवर्द्धन कृषि सहकारी संस्थाले परीक्षणका रूपमा उक्त केरा लगाएको हो । अहिले अन्य केरासँगै यसलाई पनि रोपिएको छ । यो केरा दक्षिण भारतमा बढी मात्रामा पाइन्छ ।  केरा उत्पादन कृषि सहकारी संस्थाका अध्यक्ष पूर्ण सिंह साउदले पहिलोपटक ४ र ५ सय बोटबाट खेती सुरु गरेको र इजरायलबाट बीउ ल्याएर यहीँ टिस्यु कल्चर प्रविधिबाट उत्पादन गरिएको जानकारी दिनुभएको छ । साउदले यस वर्ष थप १० हजार बिरुवा माग भएको र परीक्षणका रूपमा लगाइएको केरा उत्पादन भएपछि बजारको मागअनुसार थप पनि गर्न सकिने जानकारी दिनुभएको छ । रातो केराको बोट सामान्य केरा जस्तै हुन्छ । यसले ‘जी नाइन’ र ‘विलियम हाइब्रेड’ को तुलनामा २ महिना ढिलो फल दिन्छ । फल पनि यसको रातो र ठूलो हुन्छ । कृषि ज्ञान केन्द्र कञ्चनपुर कैलालीका वरिष्ठ कृषि विकास अधिकृत गोकुल बोहोराले रातो केरा स्थानीय जातका केरा जस्तै हुने र यसमा भिटामिन  मिनरलको मात्रा बढी हुन्छ तर सुगरको मात्रा एकदम कम हुने भएकाले मधुमेहका बिरामीका लागि बढी उपयुक्त मानिने बताउनु भएको छ । कञ्चनपुरमा केही वर्षयता केरा खेतीमा कृषकको आकर्षणबढ्दो छ । विगतमा भारतबाट हुने आयातलाई समेत यहाँको उत्पादनले विस्थापित गरेको छ ।कृषकहरू नयाँ प्रविधि र जातको प्रयोगमा लागेको पाइन्छ । अहिले करिब ६ सय हेक्टरमा केरा खेती गरिँदै आएको छ । यहाँको उत्पादन सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लासँगै बुटवल, नेपालगन्जसम्म पुग्ने गरेको छ ।( कान्तिपुर दैनिक )

 

Comment