मसिनो तथा बास्नादार धानखेती विस्तार कार्यक्रममा लक्ष्यभन्दा बढी आवेदन

काठमाडौं २५ बैशाख । सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अघि सारेको मसिनो तथा बास्नादार धानखेती विस्तार कार्यक्रमा लक्ष्यभन्दा बढी आवेदन परेको छ । मन्त्रालयले मसिनो तथा बास्नादार धानखेतीका लागि आवेदनका लागि आह्वान गरेकोमा लक्ष्यभन्दा बढी आवेदन परेको हो ।
प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ३ वैशाखमा सूचना जारी गरी चालू आर्थिक वर्ष २०७५÷७६ मा कैलाली र कञ्चनपुरका लागि २ सय बिघा जग्गामा मसिनो तथा बासनादार धानखेती विस्तार गर्ने लक्ष्यसहित आवेदन माग गरेको थियो । मन्त्रालयका अनुसार कैलालीका विभिन्न स्थानबाट मात्रै ४ सय दुई बिघामा धानखेती गर्नका लागि आवेदन परेको छ । मन्त्रालयले कञ्चनपुरस्थित ज्ञान केन्द्रमा संकलन भएको आवेदन आउन बाँकी रहेको जनाएको छ । मन्त्रालयका वरिष्ठ बागवानी विकास अधिकृत यज्ञराज जोशीले कञ्चनपुरमा पनि सय बिघा बढी जग्गामा मसिनो तथा बासनादार धानका लागि आवेदन परेको हुन सक्ने अनुमान गर्नुभएको छ । मन्त्रालयमा सबैभन्दा बढी सहकारी संस्था र कृषक समूहबाट आवेदन परेका छन् । व्यक्तिको हकमा कम्तीमा एक बिघा जमिनको प्रस्ताव हुनुपर्ने भएकाले आवेदन कम परेको हुन सक्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयमा साम्बा मन्सुली, सबयग धान, सुगन्धित धान, सर्जु बाहुन, राम धान, सावित्री धानका लागि आवेदन परेको जनाइएको छ । योसँगै हाइब्रिड धानका लागि पनि आवेदन परेको जनाइएको छ । तर, मन्त्रालयले हाइब्रिड धानको बीउ उपलब्ध नगराउने जनाएको छ । मसिनो तथा बास्नादार धानखेती विस्तार कार्यक्रमका लागि आवेदन दिने मिति सकिएको भए पनि मन्त्रालयले संकलन कार्य जारी राखेको जनाएको छ । मन्त्रालयले धानको बीउ आपूर्तिकतालाई सूचीकृत हुन आउने बारेको सूचना पनि जारी गरेको थियो । मन्त्रालयमा राष्ट्रिय बीउविजन कम्पनी, युनिक र वनदेवी सहकारी संस्थाले सूचीकृत गरेका छन् मन्त्रालयले यो कार्यक्रमअन्तर्गत किसानलाई धान बीउको मूल्यमा ७५ प्रतिशत अनुदान दिइने तथा जिंक सल्फेटमा अनुदान, बाली संरक्षणमा सहयोग र बाली बिमा गराउन सहयोग गरिनेलगायतका सेवा सुविधा प्राप्त गर्ने जनाएको छ । सोहीअनुसार मन्त्रालयले स्रोत केन्द्र पहिचान गरी किसानलाई बीउ उपलब्ध गराउने जनाएको छ । मन्त्रालयले चालू आर्थिक वर्ष २०७५÷७६ को वार्षिक कार्यक्रमअनुसार कैलाली र कञ्चनपुरमा मसिनो तथा बासनादार धान उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापना गर्ने लक्ष्य लिएको छ । मन्त्रालयले कृषि ज्ञान केन्द्र, सम्पर्क कार्यालय कञ्चनपुर, सम्पर्क कार्यालय कैलाली र सीधै मन्त्रालयमा आवेदन संकलन गरिरहेको थियो । सुदूरपश्चिम प्रदेशलाई चामलमा आत्मनिर्भर बनाउन मन्त्रालयले मोटो धानभन्दा मसिनो र बासनादार धान उत्पादन वृद्धि गर्न यो कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।
विकास अधिकृत जोशीका अनुसार मोटो धान र मसिनो धानको मूल्यमा खासै अन्तर नहु“दा र मसिनो धानभन्दा मोटो धान छोटो अवधिमा उत्पादन हुने तथा वजनदार हुने भएकाले कृषकले प्रायः मोटो धानखेतीमा बढी ध्यान दिने गरेका छन् । मन्त्रालयले सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर तथा पहाडका चार जिल्लामा मसिनो तथा बासनादार खेती विस्तार गर्ने जनाएको छ । मन्त्रालयले यसका लागि जिल्लाका कृषि ज्ञान केन्द्रमा बजेट पठाइसकेको छ । मन्त्रालयले प्रदेशको डोटीमा जोरायली बासमती धानका लागि ६० बिघा तथा बझाङ, अछाम र बैतडीमा खुमलटार जातको धान उत्पादनका लागि २०÷२० बिघामा खेती विस्तार गरिने जनाएको छ । (राजधानी दैनिक)

 

Comment