नलगाड नगरपालिकाले नगर क्षेत्रका नदी तथा खोलामा माछा लगायत जलचर प्राणी मार्न रोक

काठमाडौं १७ बैशाख । नलगाड नगरपालिकाले नगर क्षेत्रका नदी तथा खोलामा माछा लगायत जलचर प्राणी मार्न रोक लगाएको छ । नगरपालिकाले ठूलीभेरी, नलसिंहगाड लगायत नदी तथा खोलामा तीन महिनाका लागि माछा मार्न रोक लगाएको हो ।
जिल्लामा जलचर मार्न नपाइने गरी स्थानीय तहले प्रतिबन्ध लगाएको यो पहिलो घटना हो । दिनहुँजसो नदी र खोलामा पासो हालेर, करेन्ट लगाएर, विष हालेर र जाल हानेर माछा मार्ने प्रवृत्ति बढदै गएपछि नगरपालिकाले रोक लगाएको जनाएको छ । माछा लगायत जलचर प्राणी मार्नेको संख्या बढ्दा इको सिस्टममा खतरा आउन थालेपछि प्रतिबन्ध लगाइएको जनप्रतिनिधिले बताएका छन् । अब नगरपालिकाको निर्णयविपरीत माछा तथा जलचर प्राणी मारेको पाइए कानुन बमोजिम कारबाही हुनेछ । नगर कार्यपालिकाको बैठकले वैशाख १ गतेदेखि असार मसान्तसम्म माछालगायतका जलचर प्राणी मार्न प्रतिबन्ध लगाएको नगर प्रमुख टेकबहादुर रावलले जानकारी दिनुभएको छ । रावलले यो सिजनमा माछा र अन्य जलचर प्राणीले फुल पार्ने र सन्तान वृद्धि गर्ने भएकाले मार्न प्रतिबन्ध लगाइएको बताउदै यसले इकोसिस्टमलाई जोगाइराख्न मद्दत गर्ने बताउनु भएको छ । असार मसान्तपछि निर्णयमा पुनर्विचार गरी थप आवश्यक निर्णय लिइने समेत रावलले बताउनु भएको छ । खोला तथा नदी आसपासका बसोबास गर्ने बादी परिवारलगायतले माछा मारेरै गुजारा चलाउँदै आएका छन् । नगरपालिकाको माछा मार्न नपाइने निर्णयले बादी समुदाय मर्कामा परेको स्थानीय देवी बटालाले बताउनु भएको छ । नलगाड खोलाको किनारमा बस्दै आएका दर्जन बादी परिवारले वर्षौंदेखि माछा मारेरै परिवारको गुजारा चलाउँदै आएका छन् ।(कान्तिपुर दैनिक)

 

Comment