१६ औं धान दिवस बर्दियाको राजापुरमा मनाइयो, नेपालको कृषि अझै पनि आकर्षणको केन्द्र बन्न नसकेको कृषि मन्त्री खनालको भनाई

काठमाडौं १५ असार । कृषि मन्त्री चक्रपाणी खनालको उपस्थितीमा १६ औं धान दिवस बर्दियाको राजापुरमा मनाइएको छ । ‘धान खेतिमा प्रबिधी र यान्त्रिकिकरण, चामल आयातमा न्यूनीकरण’ भन्ने मूल नाराका साथ १६ औं धान दिवस मनाइएको हो । दिवसको कृषि तथा पशुपन्छी बिकास मन्त्री चक्रपाणी खनालले राजापुरमा ट्रयाकटर जोतेर र धान रोपेर उद्घाटन गर्नुभएको छ ।  कार्यक्रमलाई सम्बोधन गर्दै कृषि तथा पशुपन्छी बिकास मन्त्री चक्रपाणी खनालले नेपालको कृषि अझै पनि आकर्षणको केन्द्र बन्न नसकेको तर्क गर्नुभएको छ । दक्ष युवा जनशक्ति विदेश पलायन हुँदै जाँदा खेतीयोग्य जमिन पनि बाझो हुँदै गएको उहाँको भनाई छ । कृषि क्षेत्रमा परिवर्तन ल्याउनका लागि सोच र कृषि प्रणालीमा सुधार गर्नु पर्ने मन्त्री खनालले बताउनुभयो । कृषकको जीवनशैली नबदलिकन यसको विकास हुन नसक्ने भन्दै उहाँले त्यसको लागि कृषियोग्य जमीनको खन्डिकरण गरि कृषिमा यान्त्रिकीकरण र आधुनिकीकरण गरिनु पर्ने बताउनुभएको छ ।
२०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्रा्ष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरेका थिए । राष्ट्रसंघले धान वर्ष घोषणा गरेपछि नेपालले पनि राष्ट्रिय धान दिवस मनाउने निर्णय गरेको थियो । कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्धेश्यले नेपालमा पनि यो दिवस मनाउन थालिएको हो । विश्वको जनसंख्याको आधा अर्थात् साढे तीन अर्ब मानिसको मुख्य खाना नै चामल हो । ९० प्रतिशत धान एशियामै उत्पादन हुने गर्छ । नेपालको मुख्य बाली धानको कुल खाद्यान्नमा करिब ६० प्रतिशत योगदान छ । चालु आर्थिक वर्षमा ५६ दशमलब १० हजार मेट्रिक टन धान उत्पादन भएको छ । यो गत वर्षको तुलनामा आठ प्रतिशत भन्दा बढी हो । सरकारले पांच वर्षमा कृषि उत्पादन दोब्बर बढाउने लक्ष्य लिएको छ ।
आज काठमाडौं, भक्तपुर, पोखरा, दाङलगायत विभिन्न जिल्लामा विभिन्न संघसंस्थाको आयोजनामा रोपाई महोत्सव सम्पन्न भएको छ । 

 

Comment