परम्परागत संस्कार अनुसार मार्सी धानको बेर्ना राखियो

काठमाडौं २१ चैत्र । जुम्लाको चर्चित कालीमार्सी र रातीमार्सी धानको किसानले बेर्ना राखेका छन् । परम्परागत संस्कार अनुसार किसानले चतै २० गते उमारेको टुसा भएको धानको बेर्ना राख्ने चलन छ । सोहीअनुसार बुधबार किसानले उमारेको बिउ ब्याडमा छरेका छन् । किसानले पुरानो संस्कार अनुसार चैत १२ गते बिउका बोरा पानीमा राखेर रुजाउने, १६ गते बाहिर निकाल्ने र २० गते बेर्नामा छर्ने चलन अनुसार जुम्ली किसानले बिउ छरेका हुन् । 
हरेक वर्ष चैत २० गते कर्णाली मार्सी धानको बिउ घरमै उत्पादन गरी छर्ने चलन रहेको हुन्छ । यस दिनलाई यहाँको संस्कारमा विच्छेति पनि भन्निछ । जुन धान रोप्ने दिन यहाँको संस्कारमा धान उत्पादनको आरम्भ दिनको रूपमा लिइन्छ । जुम्लाको चलन अनुसार महिलाले मागल पुकारेसँगै सबैले चन्दननाथ, भैरवनाथ, कनकसुन्दरी, मस्टो, कालीका, मालिका देवतालाई र आ–आफ्नो मान्ने कुल देवतालाई सम्झेर चैत १२ गतेबाट धान रोप्ने प्रक्रिया सुरु गरिन्छ । विषेश गरी जुम्लामा मार्सी धानखेतीका लागि चन्दननाथ बाबाले दिएको उपदेशका आधारमा कर्णालीमा धानखेतीको सुरुवात गरेको पाइन्छ । श्रीशाक्के ९६३ अर्थात् वि.सं. १०९८ सालमा जुम्लामा धानखेती सुरुवात भएको पाइन्छ । पूरै विशाल खस सिंजा राज्यभर वि.सं. १११२ सालमा धानको खेती लागाएको इतिहास छ । चैत १२ गते विभिन्न तरिकाले बिउ राखेर २० गते बेर्नामा लगरे साथै आफन्त र छोरी कुटुम्बलाई बोलाई मीठो भोजन गर्नु भनी चन्दननाथ बाबाले भनेअनुसार नै गर्ने गरिएको छ । चैत १६ गते भिजाएको धानको चिउरा कुट्ने र खाने चलन रहेको छ । (गोरखापत्र दैनिक)

 

Comment