सामान्यतया देशभर असारमा धान रोपिने भए पनि जुम्लामा भने जेठमै रोपाइँ, जुम्लाका कृषकलाई कालीमार्सी धान रोप्ने चटारो

काठमाडौं १९ जेष्ठ । सामान्यतया देशभर असारमा धान रोपिने भए पनि जुम्लामा भने जेठमै रोपाइँ गर्ने चलन छ । चिसोका कारण असारमा रोपेको धान समयमै नपाक्ने भएकाले जुम्लामा जेठमै धान रोप्ने गरिएको स्थानीय कृषकहरू बताउँछन् । सोहीकारण यतिखेर जुम्लाका कृषकलाई कालीमार्सी धान रोप्ने चटारो छ । शनिबार नेपालकै प्रसिद्ध धार्मिकस्थल चन्दननाथ भैरवनाथ मन्दिरको शेरा (खेत) ज्युलोमा रोपाइँ सुरु गरिएको छ । जुम्लाको सदरमुकाम खलंगास्थित चन्दननाथ भैरवनाथ बाबाको ३५ हजार वर्ग्मिटर खेतमा यो वर्षको रोपाइँ सुरु गरिएको हो । चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवाल र प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे रोपाहा (रोप्नेरी)का रूपमा अघि सर्दै मन्दिरको खेतमा रोपाइँ सुरु गर्नुभएको हो ।  
नगरप्रमुख कान्तिका सेजुवालले  कालीमार्सी धान र चन्दननाथ, भैरवनाथ मन्दिर जुम्लाको मात्र नभएर नेपालकै पहिचान हो भन्दै कालीमार्सी धानसँग जुम्लीको पहिचान जोडिएकाले यसको संरक्षण र संवर्द्धनका लागि सबैले हातेमालो गरी रोपाइँको आयोजना गरिएको  बताउनु भएको छ ।  मार्सी धान रोपेपछि पाक्नलाई १ सय ५० दिनदेखि १ सय ६५ दिनसम्म लाग्ने कृषिविज्ञ बालकराम देवकोटाले बताउनु भएको छ । गिनिजबुक अफ द वर्ल्ड रेकर्डका अनुसार समुद्री सतहदेखि २ हजार ७ सय ९० मिटर उचाइको विश्वकै अग्लो स्थान जुम्ला छुमचौर ज्युलोमा मार्सी फल्छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाको २८ सय हेक्टरमा मार्सी खेती हुँदै आएको छ । यो धान शीतोष्ण हावापानीका लागि उपयुक्त मानिन्छ । तर, ब्लास्ट रोगको संक्रमण र असिनापानीले मार्सी झर्न थालेपछि यसको उत्पादन घट्दो छ । (नयाँ पत्रिका )

 

Comment