सामुदायिक बीउ बैंक सञ्चालनमा, ७४ प्रजातिका बीउ संकलन

काठमाडौं १९ पुस । ‘हाइब्रिड’ बिउको प्रयोग बढेसंगै रैथाने बिउ मासिदै जाने समस्यालाई समाधान गर्न मस्र्याङ्दी गाउँपालिका–२, घनपोखरा रोप्लेफाँटमा बुधबारदेखि सामुदायिक बीउ बैंक सञ्चालनमा आएको छ । यहाँ रैथाने बालीका ७४ प्रजातिका बीउ संकलन गरिएका छन् । यो बैंक स्थानीयको पाँच वर्षदेखिको मेहनतको उपलब्धि हो ।
धानका २३, कोदोका १०, जौको १, कागुनो ४, मकै २, उवा १, सिमी ६, बोडी ४, गहत १, भटमास ४, घिरौँला २, पिँडालु ३, खुर्सानी ४, काँक्रो ३ र फर्सीका ३ प्रजातिका बीउ राखिएका छन् । रैथाने जातका बाली लोप हुन थालेपछि जोगाउने अभियान थालिएको बैंक अध्यक्ष खेगेश्वरजंग गुरुङले बताउनु भएको छ । उहाँ घनपोखरा बीउ उत्पादन तथा संरक्षण कृषक समूहका पनि अध्यक्ष हुनुहुन्छ ।
मस्र्याङ्दी–१ र २ वडामा जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड) पोखराले स्थानीय बाली परियोजना सञ्चालन गर्दै आएको छ । संस्थाका कार्यक्रम अधिकृत रीता गुरुङले कृषि विभाग, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), जिन बैंक र बायोभार्सिटी इन्टरनेसनलको संयुक्त पहलमा बीउ बैंक स्थापना गरिएको बताउनु भएको छ ।
गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बाली संरक्षणका लागि प्रचारात्मक अभियान चलाइने बताए । ‘हामीसँग थुप्रै होमस्टे छ । त्यहाँ आउने पर्यटकलाई रैथाने बालीका परिकार खुवाउन चाहन्छौं,’ उहाँले भन्नुभयो ।
बैंक शुभारम्भ कार्यक्रममा बायोभर्सिटीका राष्ट्रिय परियोजना प्रबन्धक देवेन्द्र गौचनले ग्रामीण भेगलाई खाद्य असुरक्षाबाट जोगाउन रैथाने बीउ बैंक आवश्यक रहेको बताउनु भएको छ । ‘रैथाने बालीबिना खाद्य सुरक्षा रहँदैन । आयातीत बालीले क्षणिक फाइदा दिए पनि रैथानेजस्तो दिँदैन,’ उहाँले भन्नुभयो । रैथाने बालीले स्थानीय प्रकृति र हावापानीसँग सन्तुलन मिलाउन सक्ने गौचनले जानकारी दिनुभयो ।
नार्क, जिन बैंकका निमित्त प्रमुख बालकृष्ण जोशीले रैथाने बाली संरक्षण गर्ने अभियान चलाइएको बताउनु भयो । ‘हराइसकेका वा हराउन लागेका बाली जोगाउने योजनामा छौं,’ उहाँले  भन्नुभयो ।
जोशीका अनुसार स्थानीयले सामुदायिक कृषिको अवधारणाअनुरूप आफैं संरक्षण र संवद्र्धन गरेर यसबाट फाइदा लिन सक्छन् । ली–बर्डका कार्यक्रम सञ्चालन निर्देशक भरत भण्डारीले बीउ बैंक संरक्षण र संवद्र्धनमा स्थानीयको अग्रसरता रहनुपर्ने बताउनु भएको छ ।
‘कार्यक्रम सकिएपछि लथालिंग भए यसबाट रैथाने बीउ हराउँछ । कालान्तरमा स्थानीयलाई समेत समस्या पर्न जान्छ,’ उहाँले भन्नुभयो। कृषि ज्ञान केन्द्र लमजुङका वरिष्ठ कृषि विकास अधिकृत ओमबहादुर अधिकारीले जिल्लामा रैथाने बाली प्रवद्र्धनका कार्यक्रम सुरु गरिने बताउनु भएको छ । ‘मन्त्रालयबाट कार्यक्रम आएको छ । हामी पनि जिल्लामा सुरु गर्छौं,’उहाँले भन्नुभयो।
घनपोखरामा आर्थिक वर्ष २०७१ र ७२ बाट रैथाने बाली संरक्षण गर्न अनुसन्धान थालिएको हो ।(कान्तिपुर दैनिक)

 

Comment