सुन्तला उत्पादन राम्रो नहुदा किसान चिन्तित

काठमाडौं १५ । नगदे बालीका रूपमा उत्पादन हुने सुन्तला यो वर्ष किसानको अपेक्षा गरे अनुसार नफले पछि दार्चुलाका किसान चिन्तित भएका छन् । सुन्तलाको फल लाग्ने समयमा पानी नपर्दा र केही बोटहरूमा रोगको संक्रमण फैलिँदा आश गरे अनुसारको उत्पादन नभएको किसानहरू बताउँछन् । 
बसेडी, बह्मदेव, पिपलचौरी, छापरी, उकु, शंकरपुर, रानीशिखर, शेरीलगायत ठाउँमा सुन्तला उत्पादन भए पनि सबैभन्दा धेरै र स्वादिलो महाकाली नगरपालिका ६ निसिलको हुन्छ । यहाँको सुन्तला जिल्ला सदरमुकाम खलंगा, बलुवाकोट, धाप लगायत सीमावर्ती भारतको धारचुला, जौलजिवीमा बढी माग हुने निसिलका स्थानीय नरेशबहादुर पालले बताउनु भएको छ । गत वर्ष ७० हजार बराबरको सुन्तला बिक्री भएपनि यो वर्ष अहिलेसम्म ३५ हजार रुपैयाँको मात्र बिक्री गरेको पालले बताउनु भएको छ ।
 अहिलेसम्म यस वर्ष जतिको नोक्सानी कहिल्यै नबेहोरेको सुन्तला कृषक हर्के पालले २० र २२ सुन्तलाको बोटबाट यसअघिका वर्षमा ८० हजारको हाराहारीमा आम्दानी हुने गरेपनि रूखमा सुन्तला सकिनै लाग्दा ४० हजार रुपैयाँको मात्र बिक्री भएको बताउनु भएको छ ।
 यहाँको सुन्तला परम्परागत रूपमै धेरै वर्षदेखि खेती हुँदै आएको छ । निसिलमा सुन्तला खेती व्यावसायिक बने पनि आधुनिक बन्न नसकेको किसानहरूको भनाइ छ ।
पूर्ण रूपमा व्यावसायिक नबन्दा बेला–बेलामा सुन्तलाको बोट सुक्ने, किरा लाग्ने जस्ता समस्या पनि किसानले झेल्दै आएका छन् । सिँचाइ सुविधा, प्राविधिक र किसानलाई उपयुक्त सीपको ज्ञान उपलब्ध हुन नसक्दा बेला–बेलामा आफूहरूले समस्या झेल्दै आएका अर्का सुन्तला कृषक नरेशले बताउनु भएको छ ।

निसिलको पूरै गाउँमा सुन्तला उत्पादन सुरुदेखि राम्रो हुने भए पनि सरकारीस्तरबाट किसानहरूलाई प्राविधिक सहयोग नमिल्दा बेला–बेलामा नोक्सानी बेहोरिरहेको किसानहरूको भनाइ छ । यहाँका किसानहरू वार्षिक रूपमा ५० हजारदेखि अढाई लाखसम्मको सुन्तला बिक्री गर्दै आएका छन् । किसानले सुन्तला खेतीमा प्रगति गर्न थालेपछि त्यसलाई आधुनिक बनाउने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत निसिललाई सुन्तला पकेट क्षेत्र बनाइएको छ ।

Comment