सरकारले खाद्यान्नमा आत्मनिर्भर हुने भन्दै विभिन्न योजना अघि सारे पनि नेपालमा खाद्यान्न आयात बर्सेनि बढ्दै

काठमाडौं २२ चैत्र । सरकारले खाद्यान्नमा आत्मनिर्भर हुने भन्दै विभिन्न योजना अघि सारे पनि नेपालमा खाद्यान्न आयात भने बर्सेनि बढ्दै गएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार पछिल्लो समय खाद्यान्न आयात बढ्दै गएको हो । केन्द्रका अनुसार चालू आर्थिक वर्षको सात महिनामा खाद्यान्न आयातमा २० प्रतिशतले आयात बढेर ३२ अर्ब ५२ करोड २१ लाख १ हजार रुपैयाँ बराबरको आयात भएको हो ।
कृषि तथा पशुपंक्षी मन्त्रालयले मुलुक खाद्यान्नमा आत्मनिर्भर हुनका लागि विभिन्न कार्यक्रम सार्वजनिक गरेपनि आयात भने रोकिन सकेको छैन । स्थानीय उत्पादनले माग धान्न नसकेपछि खाद्यान्नको आयात बढ्दै गएको देखिन्छ । अधिकांश खाद्यान्नको आयात छिमेकी मुलुक भारतबाट हुने गर्छ । आयात बढ्दै गए पनि निर्यात भने न्यून छ । पछिल्लो सात महिनामा ३२ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ । स्थानीय उत्पादनले माग धान्न नसकेपछि सात महिनामा सो रकम बराबरको चामल, मकै, गहुँ र कोदो लगायतका खाद्यान्नको आयात भएको हो । अघिल्लो वर्ष सो अवधिमा २७ अर्ब २२ लाख ४४ हजार रुपैयाँको खाद्यान्न आयात भएको थियो । यस अवधिमा २० अर्ब ५५ करोड रुपैयाँको चामल आयात भएको केन्द्रको तथ्यांकले देखाएको छ । यस्तै, ७ अर्ब ७२ करोड रुपैयाँको मकै र २६ करोडको कोदो आयात भएको छ ।
केन्द्रले गरेको अध्ययनका क्रममा सुदूरपश्चिम प्रदेशमा जनसंख्याको अनुपातमा चामल उत्पादन धेरै हुने गरेको छ । कुन प्रदेशमा खाद्यान्नको उत्पादन कति हुन्छ भनेर केन्द्रले अध्ययन गरिरहेको छ । प्रदेशसँग आन्तरिक व्यापार गर्नका लागि कुन प्रदेशमा केको उत्पादन बढी हुन्छ भनेर अध्ययन भइरहेको केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले जानकारी दिनुभएको छ ।
नेपालबाट भारतीय व्यापारीले धान लैजाने गर्छन् । नेपालमा सस्तो मूल्यमा धान निर्यात हुने र पछि महँगोमा चामल आयात हुने गरेको छ । पछिल्लो समय मुलुकमा खेती गर्ने जमिन खडेरीमा प्रयोग हुनु, खेती गर्ने जनशक्ति वैदेशिक रोजगारीमा गएकाले मागअनुसार खाद्यान्न उत्पादन हुन सकेको छैन । स्थानीय उत्पादनले माग धान्न नसकेपछि ठूलो रकम बराबरको खाद्यान्न नेपालमा आयात हुने गरेको छ । कृषि विकास मन्त्रालयका अनुसार यो वर्ष धानको उत्पादन बढेर ५२ लाख टन पुगे पनि खाद्यान्न आयात भने रोकिन सकेको छैन । व्यापारविज्ञ पुरुषोत्तम ओझा स्थानीयस्तरमा उत्पादन बढाउन नसक्दा ठूलो रकमको खाद्यान्न आयात गर्नु परेको बताउँनु हुन्छ । कृषि उत्पादन कम हुनु, कृषि पेशामा आकर्षण घट्दै जानु र काम गर्ने जनशक्ति रोजगारीका लागि खाडी मुलुकमा गएकाले उत्पादन घट्दा खाद्यान्नको आयात बढ्दै गएको ओझाको भनाइ छ । मुलुकमा अधिकांश वस्तु तथा सेवाको आयातदर बढ्दै गए पनि निर्यात भने बढ्न सकेको छैन । स्वदेशी वस्तुको लागत महँगो हुँदा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्दा निर्यात बढ्न नसकेको हो । (कारोबार दैनिक)

 

Comment