सरकारले तोकेको उखुको मूल्य किसानलाई दिन नसक्ने उद्योगीको भनाई ,मुल्यमा देखिएको समस्याका कारण किसान चिन्तित

काठमाडौं ४ माघ । पश्चिम नवलपरासीका चिनी मिल उद्योगीले सरकारले तोकेको उखुको मूल्य किसानलाई दिन नसक्ने बताएका छन् । चिनीको मूल्य नबढाउने तर उखुको मात्र बढाउँदा उद्योग चल्न नसक्ने उद्योगीहरूको भनाइ छ ।
बेलाटारीमा बुधबार आयोजित सर्वपक्षीय छलफलमा बढाएको मूल्य तिर्नुपर्ने भए उद्योग नचलाउने चेतावनी उद्योगीहरूले दिएका छन् । वाग्मती खाडसारी सुगर मिलका प्रबन्ध निर्देशक राम थापाले सरकारले तोके अनुसारको मूल्यमा उखु खरिद गरी उद्योग चलाए आफूहरू टाट पल्टिने बताउनु भएको छ । किसान र उद्योगीबीच तत्काललाई सहमतिमा एउटा मूल्य कायम गरी उद्योग सञ्चालन गर्ने र सरकारले चिनीको मूल्य बढाएपछि मात्र तोकेको मूल्य दिन तयार रहेको थापाले बताउनु भएको छ । सरकारले यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल अनुदानसहित ५ सय ३६ रुपैयाँ तोकेको छ । उखु क्रसिङ समय करिब २ महिना बितिसक्दा पनि जिल्लामा रहेका तीन ठूला चिनी उद्योग सञ्चालनमा आएका छैनन् । किसानहरूले समयमा भुक्तानी पाउन नसकेकामा चिन्ता व्यक्त गरे । आफूहरूले ध्वनि प्रदूषण, वायु प्रदूषण, जल प्रदूषणको सामना गर्दै नगदे बालीका रूपमा उखु लगाउँदै आए पनि समस्याको सामाधान हुन नसकेकामा किसानको गुनासो छ । समयमा चिनी उद्योग नचल्दा पश्चिम नवलपरासीमा मात्र १० प्रतिशतभन्दा बढी उखु सुकेर खेर गएको छ । जसका कारण किसानलाई करिब ११ करोडभन्दा बढी रकम घाटा भएको छ । मंसिरको पहिलो साता नै सञ्चालन हुनुपर्ने उद्योग माघ पहिलो सातासम्म पनि सञ्चालनमा नआउँदा उखु सुकेको हो ।  उद्योगी, किसान र जनप्रतिनिधिको सर्वपक्षीय भेलामा उद्योग सञ्चालनमा नआए खेतमा नै उखुमा आगो लगाएर विरोधमा उत्रिने किसानहरूले चेतावनी दिएका छन् ।उद्योग नचलेमा थप घाटा सहनुपर्ने भन्दै तत्काल उद्योग चलाउन किसानले माग गरेका छन् ।
जिल्लामा ७ हजार ५ सय हेक्टर क्षेत्रफमा उखु खेती हुँदै आएको छ, जसबाट करिब २० लाख क्विन्टल उखु उत्पादन हुने अनुमान छ । जिल्लामा इन्दिरा सुगर इन्डस्ट्रिज, वाग्मती खाडसारी र लुम्बिनी चिनी मिल गरी तीन वटा ठूला उद्योग सञ्चालनमा छन् भने एक सयभन्दा बढी भेली बनाउने क्रसर सञ्चालनमा छन् ।(कान्तिपुर दैनिक )

 

Comment