श्रम ऐन कार्यान्वयनको माग गदै श्रमिकद्धारा सडकमा सुतेर विरोध प्रदर्शन

काठमाडौं २५ बैशाख । श्रम ऐन कार्यान्वयनको माग गर्दै आन्दोलित चिया श्रमिकहरूले झापाको बिर्तामोडस्थित सडकमा सुतेर विरोध प्रदर्शन गरेका छन् । श्रमिकहरूले मंगलबार बिर्तामोडको मुक्ति चोकस्थित सडकमा दिउँसो १ देखि २ बजेसम्म सुतेर एक घण्टा चक्काजाम गरी विरोध जनाएका हुन् । 
सरकारले गत साउनदेखि लागू गरेको श्रम ऐन ०७४, श्रम नियमावली ०७५ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयनको माग गर्दै चिया श्रमिकहरू चैत १७ गतेदेखि सडक आन्दोलनमा छन् । सरकारले ऐन लागू गरे पनि चिया उद्योगीले कार्यान्वयन नगरेको विरोधमा अनिश्चितकालीन सडक आन्दोलन सुरु गरेको चिया श्रमिकको भनाई छ । चिया बगान तथा कारखानामा काम बन्द गरी श्रमिकहरू मङ्गलवार ३८ दिनसम्म आन्दोलित बनेका हुन् । आन्दोलन थालेको ३८ दिनसम्म पनि माग पूरा नभएकोप्रति श्रमिक निकै आक्रोशित देखिन्छन् । उनीहरूले ऐन कार्यान्वयन नगर्ने उद्योगी व्यवसायीलाई कानुनी कारबाहीको माग समेत गरेका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघका प्रदेश १ इन्चार्ज भूपाल सापकोटाले श्रमिकहरू आन्दोलनका कारण भोकभोकै मर्न लागिसके पनि उद्योगीहरूले अझै पनि कुराहरू नसुनेको भन्दै आफुहरु भोकभोकै मर्न तयार भएको बताउनु भएको छ । सापकोटाले कानुनले तोकेको ज्याला र सेवासुविधा लिएरै छाड्ने भन्दै तत्काल आफूहरूको माग पूरा गर्न उद्योगी व्यवसायीलाई आग्रह समेत गर्नुभएको छ । नेपाल चिया बगान श्रमिक सङ्घका केन्द्रीय अध्यक्ष दीपक तामाङले चिया श्रमिकको मागप्रति उद्योगी र सरकारले बेवास्ता गरेको आरोप लगाउदै ऐन कार्यान्वयनका लागि आन्दोलनको विकल्प नभएको जानकारी दिनुभएको छ । श्रमिकको माग तत्काल पुरा नभए आगामी दिनमा थप सशक्त आन्दोलनका कार्यत्रमहरु अघि बढाउने तामाङले बताउनु भएको छ । श्रमिक आन्दोलनमा उत्रिदा बगानमा चियाको हरियो पत्ती झाँगिएको छ । जिल्लामा करिब ३० हजार श्रमिक कार्यरत छन् ।(कान्तिपुर दैनिक)

 

Comment