तरकारी खेतीबाट राम्रो आम्दानी हुदा कृषक आकर्षित

काठमाडौं १९ पुस । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रका स्थानीय कृषिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् । तरकारी खेतीबाट राम्रो आम्दानी हुने भएपछि तरकारी खेतीतर्फ आकर्षित भएका हुन् । 
निकुञ्जबाट आउने जङ्गली जनावरले अन्य बाली सखाप पारिदिने भएपछि तरकारी खेती लगाउन थाल्नुभएका भीमदत्त नगरपालिका १४ वनकट्टीका कृषक तुलसीराम रानाले डेढ दशकदेखि तरकारी खेती गरिरहे पनि शुरुमा करेसाबारी जस्तै एक कट्ठामा मात्रै तरकारी खेती गर्नुभएको थियो । जिल्ला कृषि विकास कार्यालयबाट तरकारी खेती तालिम लिएर तरकारी खेती शुरु गर्नुभएका उहाँले अहिले निड्स नेपाल कञ्चनपुरको सहयोगमा १२ कट्ठा जमिनमा तरकारी खेती विस्तार गर्नुभएको छ । रानाले खुर्सानी, काउली, भन्टा, कोपी, काँक्रालगायतका तरकारी लगाउनुभएको छ ।
उहाँजस्तै अरू किसानले पनि तरकारी खेती गर्दै आएका छन् । उत्पादित तरकारी महेन्द्रनगर बजारमा बिक्री वितरण हुने गरेको छ । वार्षिक डेढ लाख रुपियाँ बचत हुने गरेको कृषक रानाले बताउनुभयो । कृषक रानाले सिँचाइ र जङ्गली जनावरबाट हुने नोक्सानी रोक्न माग गर्नुभयो । त्यसो गरिए उत्पादन र आम्दानी अरू बढ्ने बताउनुभयो । 
निड्स नेपाल कञ्चनपुरका कार्यकारी निर्देशक भवराज रेग्मीले जिल्लाभरका छ हजार छ सय घरधुरीले व्यावसायिक तरकारी खेती गरेको बताउनुभयो । उहाँका अनुसार तरकारी पकेट क्षेत्र विस्तार गरेर खेती गरिएको छ । एक बिघादेखि पाँच बिघासम्म तरकारी खेती गरेका कृषकले एकदेखि पाँच लाख रुपियाँसम्म जम्मा गर्दै आएका छन् । 
निड्स नेपाल कञ्चनपुरले भीमदत्त र शुक्लाफाँटा नगरपालिकामा सञ्चालन गरेको योजनाको संयुक्त अनुगमनसमेत गराएको छ । प्रदेशसभा सदस्य तारा लामा तामाङ, महेशदत्त जोशी, लालबहादुर खड्का, मानबहादुर सुनार, कुलवीर चौधरीलगायत जिल्ला समन्वय समितिका प्रमुख फैरु तामाङ, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रमुख टीकाराम थापाले अनुगमन गर्नुभएको छ ।(गोरखापत्र दैनिक)

 

Comment