दुई हजार टन सख्खरखण्ड भारतबाट आयात

काठमाडौं २ माघ । माघे संक्रान्ति अवसरमा करिब नौ करोडको सखरखण्ड बुटवलमा मात्र आयात भएको छ । बुटवल कृषि उपज तथा थोकबजार केन्द्रमा माघे संक्रान्तिलाई लक्ष्य गरी पुस २५ गतेबाट सख्खरखण्ड र तरुलको कारोबार हुन थालेको हो । यो पटक कृषि उपजमा दुई हजार टन सख्खरखण्ड भारतबाट आयात भएको छ ।
नेपालमा उत्पादित सख्खरखण्ड थोकबजारमा नभएको केन्द्रका अध्यक्ष कलाधर पन्थीले बताउनु भएको छ । स्वदेशी उत्पादनको सख्खरखण्ड ठूलो एकादशीमै खपत र बाँकी त्यसपछि बिक्री भएपछि माघे संक्रान्तिको लागि नेपाली उत्पादन नभएको पन्थीले बताउनु भएको छ । कृषि उपज तथा थोकबजारमा सख्खरखण्डको मूल्य ४० देखि ५० रुपैयाँमा बिक्री हुन्छ ।
कृषि उपज केन्द्रमा स्वदेशी सख्खरखण्ड नभए पनि बाहिर हाटबजार, ठेलामा भने बिक्री गरिएको छ । ट्राफिकचोकमा ठेला राखेकी लक्ष्मी खड्काले भारतको उत्पादनसँगै चितवनबाट आएको सख्खरखण्ड बिक्री भइरहेको बताउनु भएको छ ।’ कृषि थोकबजारमा बिक्री हुने सख्खरखण्ड भारतीय उत्पादन भए पनि तरुल भने स्वदेशी उत्पादन नै हो । यसपटक ७० देखि ८० टन तरुल थोक बजार केन्द्रमार्फत कारोबार भएको कृषि उपज केन्द्रका अध्यक्ष पन्थीले बताउनु भएको छ । पाल्पाको तरुल बढी मात्रामा आएको छ ।
सक्रान्तिको अघिल्लो दिन थोकबजार बाहिर खुद्रा बजारमा तरुल र सख्खरखण्ड किनमेल भइरहेको थियो । हप्ताको एक दिन सोमबार बुटवलका मुख्य बजार क्षेत्रका पसलहरु बन्द भए पनि ट्राफिकचोक, बीपीचोक लगायत क्षेत्रका सडकमा भने माघे संक्रान्तीको लागि किनमेल चलिरहेको थियो । सडक पेटी तथा ठेलामा तरुल, सखरखण्डको चाङ थियो ।(अन्नपुर्ण पोष्ट)

 

Comment