उखुको क्रसिङ मिल सञ्चालक र उखु किसानबीच सहमति भएपछि क्रसिङ शुरु

काठमाडौं १५ माघ । हरेक वर्षको मङ्सिरमा शुरु हुने उखुको क्रसिङ मिल सञ्चालक र उखु किसानबीच सहमति भएपछि सोमबारबाट क्रसिङ शुरु भएको छ । किसानहरूलाई उखु क्रसिङ गर्न भ्याई नभ्याई हुन थालेको र भारतबाट मजदुर ल्याएर उखु क्रसिङ गर्न यहाँका किसानहरू अहिले व्यस्त हुन थालेका छन् । 
हरेक वर्ष मङ्सिरको पहिलो हप्ता शुरु भएर माघ मसान्तसम्म क्रसिङ सक्ने भए पनि यो वर्ष मिल सञ्चालकले उखु लिन नमान्दा करिब दुई महिना १५ दिन उखु क्रसिङ हुन सकेको थिएन । पटकपटकको वार्ता र संवादबाट उखु किसान र मिल सञ्चालकको वार्तापछि समस्या समाधान भई सोमबार देखि जिल्लामा रहेका तीनवटा चिनी मिल सञ्चालनमा आएको जिल्ला उखु उत्पादक सङ्घका अध्यक्ष उमेश यादवले बताउनुभयो । गत पुसको पहिलो हप्तामा महोत्तरीको बर्दिवासमा बसेको बैठकले उखु उठाउन मिल सञ्चालकहरू सहमत भए पनि जिल्लास्तरमा भने उखु लिन चिनी मिल सहमत भएका थिएनन् । 
पटक पटकका वार्ताबाट समस्या समाधान भएपछि आजदेखि नवलपरासी पश्चिममा रहेका बागमती, इन्द्रावती र लुम्बिनी चिनी मिलले उखु लिन थालेका र चिनी मिलहरू पनि सञ्चालनमा आएपछि उखु किसानहरूले अहिले भारतबाट मजदुर ल्याएर उखु क्रसिङ गर्न थालेका अध्यक्ष यादवले बताउनुभएका छ ।  उखुको मूल्य सरकारले यो वर्ष मिलगेटका लागि रु. ५३६।५६ पैसा तोकेपछि चिनी मिलहरूले उखु नै नलिने घोषणा गरेपछि अन्योलमा परेका उखु किसानको लाखौँ क्विन्टल उखु सुकेर जान थालेको किसानहरूले बताएका छन् । मिल सञ्चालकले सो दरमा उखु लिने हो भने चिनीको मूल्यमा फेरबदल हुनुपर्ने माग राख्दै आएका कारण दुई महिना क्रसिङ हुने समय सकिन थालेपछि अन्तिममा आएर मात्र उखु लिन थालेका अध्यक्ष यादवले जानकारी दिनुभयो । मङ्सिरको पहिलो हप्ताबाट सधैँका वर्षझैँ सञ्चालनमा आउने जिल्लाका तीन चिनी उद्योगले आजबाट उखु लिन थालेपछि किसान खुसी भएका अध्यक्ष यादवले बताउनुभयो । नवलपरासी पश्चिममा रहेका बागमती खाँडसारी चिनी मिल, इन्दावती सुगर मिल र लुम्बिनी चिनी मिल सञ्चालनमा रहेका र आजदेखि ती मिलले उखु लिन थालेपछि समस्या अन्त्य भएको जिल्ला उखु उत्पादक सङ्घले जनाएको छ । 
उखु क्रसिङ गर्न तीन महिनाको समय लाग्ने भएकाले सधैँका वर्षमा मङ्सिर, पुस र माघमा किसानले उखु बिक्री गरिसक्थे तर अहिले अढाई महिनापछि मात्र क्रसिङको काम शुरु भएको र अब १५ दिनमा सकिने गरी भारतबाट मजदुर ल्याएर क्रसिङ शुरु गरिएको अध्यक्ष यादवले जानकारी दिनुभएको छ । गत वर्षको पनि झण्डै चार करोड ५० लाख भुक्तानी पाउन अझै बाँकी रहेका यहाँका उखु किसानले यो वर्ष उखु बिक्री गरेबापत समयमै रकम पाउने सहमति पनि भएको छ । उद्योग र कृषक समितिबीच सहमति भएपछि उद्योगले आजबाट उखु लिन थालेपछि यहाँका १३ हजार कृषक खुसी भएका छन् ।(गोरखापत्र दैनिक)

 

Comment