उखुको क्रसिङको याम शुरु भएको लामो समय बितिसक्दा पनि पश्चिम नवलपरासीका चिनी उद्योग सञ्चालन नहुँदा किसान बिचल्लीमा

काठमाडौं १० माघ । उखुको क्रसिङको याम शुरु भएको लामो समय बितिसक्दा पनि पश्चिम नवलपरासीका चिनी उद्योग सञ्चालन नहुँदा किसान बिचल्लीमा परेका छन् ।

अघिल्लो वर्षको करीब रु पाँच करोड चिनी उद्योगबाट नपाएका उखु किसान यस वर्षसमेत समयमै उद्योग सञ्चालनमा नहुँदा बिचल्लीमा परेका हुन् । मङ्सिरको पहिलो साताबाट उखु क्रसिङको याम शुरु भइसक्नुपर्ने भए पनि हालसम्म पश्चिम नवलपरासीका कुनै पनि चिनी उद्योग सञ्चालनमा आएका छैनन् । जिल्लामा इन्दिरा, लुम्बिनी र बागमती गरी तीन ठूला उद्योग छन् । अहिलेसम्म कुनै पनि उद्योग सञ्चालनमा नआउँदा किसानले खेतमा लगाएको उखुबाली दिनप्रतिदिन सुक्दै गएकाले आफूहरू निकै समस्यामा परेको उखु किसानका अगुवा धीरज त्रिपाठीले जानकारी दिनुभएको छ । पटक–पटक किसानले उखुको भुक्तानी र मूल्य निर्धारणको विषयलाई लिएर आन्दोलन गर्दै आए पनि सरकारले दिगोरूपमा उखुखेतीको उचित व्यवस्थापन गर्न नसक्दा आफूहरू निरास बन्दै गएको उहाँले बताउनुभयो । अघिल्लो वर्षको बाँकी रकम नदिने र यस वर्षसमेत समयमै उखु क्रसिङ नहँुदा लगाएको उखु खेतमै सुक्दै जाँदा किसानमा निराशा बढको छ । पश्चिम नवलपरासीमा रहेको बागमती सुगर मिलले गत वर्षको करीब रु चार करोड ५० लाख र इन्दिरा चिनी उद्योगबाट रु ५० लाख भुक्तानी दिन बाँकी रहेको किसानको जिकिर छ । सरकारले उखुको मूल्य प्रतिक्विन्टल रु ५३६ निर्धारण गरिसकेको छ । तत्कालै चिनी उद्योग सञ्चालनमा आउनुपर्नेर्मा े अझै एक साताभित्र उद्योग सञ्चालनमा नआए आफूहरु उखु प्रदर्शनसहित सडक आन्दोलन गर्ने अन्तिम तयारीमा पुगेको उखु किसान एवं पश्चिम नवलपरासीका साविक कुडिया गाविसका पूर्वअध्यक्ष प्रेमचन्द्र गुप्ताले जानकारी दिनुभएको छ । सरकारले उखुको मूल्य निर्धारण गरे पनि चिनीको मुल्यवृद्धि नभएसम्म सरकारले निर्धारण गरेबमोजिम उखुको मूल्य किसानलाई दिन नसक्ने उद्योग सञ्चालकको भनाइ थियो । पश्चिम नवलपरासीको सुस्ता प्रतापपुर र सरावल गाउँपालिकाको अधिकांश क्षेत्रमा उखुखेती गरिन्छ । पश्चिम नवलपरासीमा वार्षिक करीब १८ देखि २० लाख क्विन्टल उखु उत्पादन हुन्छ । जिल्लामा झण्डै १० हजार परिवार उखुखेतीमा संलग्न छन् । विगतका वर्षदेखि जिल्लामा सात हजार ५०० हेक्टर क्षेत्रफलमा उखुखेती हुँदै आएको छ ।

Comment