उखुको न्यूनतम मूल्य अस्वीकार गदै ,चिनी मिल संचालनमा ढिलाई

काठमाडौं २४ पुस । सरकारले निर्धारण गरेको उखुको न्यूनतम मूल्य अस्वीकार गर्दै उखु पेल्ने मिलहरूले उद्योग सञ्चालन गरेका छैनन् ।  सरकारले चालू आर्थिक वर्ष २०७५ र ७६ का लागि उखुको प्रति क्विन्टल मूल्य ५३६ रुपियाँ ५६ पैसा निर्धारण गरेको निर्णय पुस १९ गते पत्रकार सम्मेलन गरी जानकारी दिएको थियो । त्यसको भोलिपल्ट सर्लाहीका उखु किसानले एक साताभित्र उद्योग सञ्चालनको माग गर्दै इलाका प्रशासन कार्यालय हरिवन मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका थिए । 
तर किसानले आन्दोलनको चेतावनी सहित ज्ञापनपत्र बुझाएको तीन दिन भइसक्दा समेत जिल्लामा चिनी उद्योग सञ्चालनको तयारी समेत भएको छैन । 
चिनी उद्योगीहरूले गत वर्षकै चिनी बिक्री नभएको र आफूहरूसँग छलफल नै नगरी मूल्य कायम गरिएको भन्दै उद्योग सञ्चालनमा ढिलाइ गरेका छन् । उद्योगीले केही दिनअघि राजधानीमा पत्रकार सम्मेल नगरी उद्योग घाटामा रहेकाले तत्काल उखु क्रसिङ शुरु गर्न नसक्ने स्पष्ट पारेका थिए । 
तीनवटा चिनी उद्योग रहेका सर्लाहीमा गत वर्ष ८० लाख क्विन्टल उखु उत्पादन भएको थियो । जिल्लामा इन्दुशङ्कर चिनी उद्योग हरिवन र अन्नपूर्ण चिनी उद्योग धनकौल पश्चिमले उखु क्रसिङ गर्दै आएका छन् भने गोडैता नगरपालिकास्थित सुदामा गाउँमा खुलेको नयाँ चिनी उद्योगले पनि यस वर्षदेखि उखु क्रसिङ शुरु गर्ने तयारी गरेको छ । 
चिनी उद्योग दुईबाट तीन भए पनि जिल्लाका उखु किसानले भने उखु बिक्री गर्न र त्यसको भुक्तानी लिन बर्सेनि झमेला व्यहोर्दै आएका छन् । अन्नपूर्ण चिनी उद्योगले दुई वर्षदेखि भुक्तानी दिएको छैन । जिल्लाका किसानले गत वर्ष सरकारले अनुदानबापत दिन भनेको प्रतिक्विन्टल ६५ रुपियाँ २८ पैसा पनि अझै पाउन सकेका छैनन् । 
सर्लाहीको हरिवन नगरपालिका–७ घुर्कौलीका नन्दकिशोर कुसवाहाले अघिल्ला वर्षमा मङ्सिरमै चिनी उद्योगमा उखु बुझाएर यति बेलासम्म पहिलो किस्ताबापतको रकम पनि बुझिसक्नु हुन्थ्यो तर यस वर्ष पुस सकिनै लाग्दासमेत चिनी उद्योग सञ्चालन नहुँदा उहाँले दुई बिघाभन्दा बढी खेतमा लगाएको उखु काट्न पाउनु भएको छैन । 
उखु खेतमै सुकेर दाउरा हुने भइसक्यो, मिल चल्ने कहिले हो कहिले, उहाँले भन्नुभयो, सरकारले अघिल्लो वर्ष दिने भनेको अनुदानको पैसासमेत हात लागेको छैन, उखु लगाउँदा बैङ्कबाट लिएको ऋणको किस्ता तिर्न, बालबच्चालाई पढाउन र घर व्यवहार धान्न धौधौ परिसक्यो । कुशवाहा जस्तै पुस अन्तित भइसक्दासमेत चिनी उद्योग नचल्दा मुलुकमै सबैभन्दा बढी उखु खेती हुने सर्लाहीका किसान उखु सुक्ने चिन्ताले छटपटिएका छन् । 
नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले अहिले उखु किसान ठूलो चिन्तामा रहेका बताउनुभयो ।(गोरखापत्र दैनिक)

Comment