उन्नत जातको बीउ किन्न पठाएको रु. एक करोड रकम फ्रिज

काठमाडौं २३ पुस । मन्त्रालयले उन्नत जातको बीउ किन्न पठाएको रु. एक करोड रकम फ्रिज भएको छ । गहुँ बीउ खरिद गर्न विनियोजित रकम समयमा निकासा नहुँदा फ्रिज भएको हो भने बीउ अभावमा तीन हजार हेक्टर जग्गा बाँझै रहेको छ । 
समयमा आवश्यक कार्य सम्पादन गर्न नसकेको कारण उक्त रकम फ्रिज भएको हो । मन्त्रालयले अनुदानको गहुँ बीउ किन्न केन्द्रलाई रु. एक करोड ४५ लाख उपलब्ध गराएकोमा रु. ४५ लाखको गहँुको बीउ मात्र किनेर वितरण गरेको छ भने रु. एक करोड बाँकी रहेकोे छ । किन्ने प्रयास गर्दा गर्दै पनि बीउ पाइएन केन्द्र प्रमुख यादवले भन्नुभयो, त्यसैले मन्त्रालयले दिएको रकममध्ये एक करोड बाँकी छ । 
सप्तरी र सिरहा जिल्ला गरी एक हजार पाँच सय टन गहुँको बीउ आवश्यक रहेकोमा १०५ टन मात्र उपलब्ध हुन सकेको केन्द्र प्रमुख यादवले भन्नुभयो, १०५ टन बीउ हात्तीको मुखमा जिराजस्तै भयो । सप्तरीमा ३० हजार हेक्टर गहुँ खेतीयोग्य जग्गामध्ये यस वर्ष बीउ अभावका कारण २७ हजार हेक्टरमा मात्र गहुँबाली लगाइएको केन्द्रले जनाएको छ । गहुँ खेती भएको अधिकांश खेतमा किसानले घरमै भण्डारण गरी राखिएको बीउ नै प्रयोग गरेको बताएको छ । गहुँको बीउ अभावले तीन हेक्टर जग्गा बाँझो रहेको केन्द्रको तथ्याङ्कमा उल्लेख छ । 
कृषि ज्ञान केन्द्र राजविराजमार्फत जिल्लाका १८ वटै स्थानीय तहका डिलरलाई अनुदानमा गहुँको बीउ उपलब्ध गराउने व्यवस्था भए पनि प्रदेश २ को कृषि मन्त्रालयले गत मङ्सिर ९ गते मात्रै पत्र पठाएर बीउको व्यवस्था गर्न निर्देशन दिएको थियो । 
मन्त्रालयबाट ढिलो गरी जानकारी आएका कारण समयमा बीउ किन्न नसक्दा अभाव भएको केन्द्रका प्रमुख भागिरथ यादवले जानकारी दिनुभयो । 
निर्देशन ढिलो आए पनि हामीले राष्ट्रिय कृषि बीउबिजन केन्द्रमा बीउका लागि सम्पर्क ग¥यौँ, उहाँले भन्नुभयो, तर त्यहाँ बीउ छैन भन्ने जवाफ पाइयो । भदौमै बीउको व्यवस्थाका लागि सक्रिय हुनुपर्नेमा मङ्सिर ९ गते मात्र मन्त्रालयले यसबारे जानकारी दिएपछि अन्त्यमा साल्ट ट्रेडिङ कार्पाोरेसनसँग सम्झौता भएको थियो । 
साल्ट ट्रेडिङले २३० टन बीउ दिने सम्झौता गरेकोमा अन्तिम समयमा १५० टन मात्र दिएको कारण अभाव भएको केन्द्र प्रमुख यादवले बताउनुभयो । साल्ट ट्रेडिङबाट प्राप्त १५० टनमध्ये सप्तरीमा ६९ मेट्रिक टन गाउँपालिका÷नगरपालिकाको सिफारिसमा स्थानीय डिलरलाई उपलब्ध गराएको र बाँकी ३६ मेट्रिक टन सिरहा जिल्ला पठाइएको उहाँले जानकारी दिनुभयो ।(गोरखापत्र दैनिक)

 

Comment