उदयपुरको पहाडी भू–भागमा कफी तथा चिया खेती उपयुक्त देखिदै

काठमाडौं २२ पुस । उदयपुरको पहाडी भू–भागमा कफी तथा चिया खेती उपयुक्त देखिएको छ । नेपाल सरकार, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय पोखराको स्थलगत अध्ययन तथा केही वर्षयता गरिएको नमुना खेतीबाट चिया तथा कफीको व्यावसायिक खेतीको राम्रो सम्भावना देखिएको हो । 
उच्च गुणस्तरको प्राङ्गारिक कफी तथा चिया उत्पादन गर्न सकिने राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराको निर्देशक लक्ष्मण पोखरेलले बताउनुभयो । अन्तर्रािष्ट्रय बजारमा कफीको माग अत्यधिक रहेकाले जति ठूलो मात्रामा उत्पान भए पनि बजारको अभाव छैन । 
समुद्र सतहदेखि सात सय मिटरभन्दा उच्च भागमा हुने कफी र चिया खेतीका लागि रौतामाई गाउँपालिकाको अधिकांश भू–भाग र त्रियुगा नगरपालिकाका पहाडी वडाहरू उपयुक्त छन् । केही वर्षयता स्थानीयको सक्रियतामा चिया तथा कफी खेतीको अध्ययन तथा नमुना खेतीसमेत गरिएको र त्यसबाट राम्रो सम्भावना देखिएपछि कृषक उत्साहित बनेको कृषक विष्णु कटुवालले बताउनुभयो । 
चियाका लागि नेपालको प्रख्यात चिया बगान इलामसँग मिल्दोजुल्दो हावापानी तथा भूगोल रहेको र नेपालको पहिलो कफीखेती जिल्ला गुल्मीसँग मिल्दोजुल्दो देखिएपछि यहाँ कफी र चिया खेतीको पहल थालिएको हो । आफ्नै ठाउँमा केही गर्ने उद्देश्यले जिल्लाको प्रमुख धार्मिक एवं पर्यटकीयस्थल रौता पोखरी र आसपासका क्षेत्रलाई कृषि तथा पर्यटनमा जोड दिँदै व्यावसायिक चिया तथा कफी खेतीको कदम अगाडि सारिएको रौतारानी माई कृषक समूह उदयपुरको अध्यक्ष ध्रुब रायमाझीले बताउनुभयो ।   उपयुक्त हावापानी, भूगोल र स्थानीय कृषकको सक्रियाताबाट प्रभावित बनेको राष्ट्रिय चिया तथा कफी बोर्ड, क्षेत्रीय कार्यालय पोखराको विज्ञ तथा प्राविधिक टोलीले स्थानीय कृषकलाई कफी खेतीबारे तालिम दिएको छ । 
खाली तथा बाँझो पाखो बारीमा चिया तथा कफी खेती गरेरै राम्रो आम्दानी गर्न सकिने र विदेशिनुपर्ने बाध्यताका युवाशक्तिलाई गाउँमै रोक्न सकिने विश्वासका साथ कृषक लागिपरेका छन् । यसबाट राम्रो आय आर्जनका साथ जीविकोपार्जनमा सुधार हुने विश्वास रहेको रौतारानी माई कृषक समूह उदयपुरका सदस्य जितबहादुर राउतले बताउनुभयो । चिया तथा कफी खेतीसँगै जोडेर घरघरमा गाई, भँैसी, बाख्रा, बङ्गुर पालेर प्राङ्गारिक मल उत्पादन गर्ने र प्रयोगमा ल्याउने कृषकहरूको योजना छ । दूध तथा मासुका लागि हुने पशुपालनका लागि डालेघाँस खेतीका साथै तरकारी तथा फलफूल खेतीसमेत गर्ने योजना छ । थुप्रै सम्भावनाबीच गाईघाट–रौता सडकको स्तरोन्नति र सिँचाइ भने चुनौती रहेको छ ।(गोरखापत्र दैनिक)

Comment