बाँकेमा अज्ञात रोगले १ हजार बाख्रा मरे

काठमाडौं ९ पुस । बाख्रामा फैलिएको अज्ञात रोगका कारण बाँकेको डुडुवा गाउँपालिका– ५ कम्दी गाउँमा एक हजारभन्दा बढी बाख्रा मरेका छन् ।
दैनिकजसो बाख्रा मर्न थालेपछि किसान चिन्तित भएका छन् । कम्दी गाउँका मात्रै एक हजारभन्दा बढी बाख्रा मरिसकेको वडाध्यक्ष पर्शुराम बुढाथोकीले जानकारी दिनुभएको छ । बाख्राको पेट फुल्ने, मुखबाट ¥याल छोड्ने, पातलो दिसा गर्ने ज्वरो आउने र मर्ने गरेको किसान सुकमाया बोहोराको भनाइ थियो । बाख्रा मर्नेक्रम नरोकिएपछि कम्दीका बाख्रापालक किसान उपचारको माग गर्दै नेपालगञ्जस्थित भेटेनरी अस्पताल तथा पशुसेवा केन्द्र आइपुगेका छन् । बाख्रा बिरामी परेको बेला खबर गर्दा गाउँपालिका पशु स्वास्थ्य शाखाबाट चिकित्सक पुग्ने गरे पनि नियमित रुपमा आउने जाने नगरेको कम्दी पदमपुरका किसान टीकाराम योगीले बताउनु भएको छ ।
 डुडुवा गाउँपालिका पशु स्वास्थ्य शाखाका संयोजक तथा पशु चिकित्सक अशोक पाण्डेले रोगको पहिचान गर्नमै समस्या भएको बताउनु भएको छ । किसानको फोन आउनासाथ घरमा पुग्ने गरेको तर औषधि गर्दागर्दै बाख्रा मर्ने गरेका पाण्डे बताउनु हुन्छ । 
कुनै नयाँ रोगको आशङ्कामा बाख्राको रगत परीक्षणका लागि सुर्खेत पठाइएको चिकित्सक पाण्डेको भनाइ थियो । रोगको पहिचान नभएकाले रोकथाममा समस्या भएको तथा रोगको पहिचान र रोकथाममा सहयोगका लागि नेपालगञ्जस्थित केन्द्रमा समेत अनुरोध गरिएको पाण्डेले जानकारी दिनुभएको छ ।
उक्त अस्पतालका प्रमुख डा हरिबहादुर कुँवरले बाख्रा मरेको किसानले जानकारी गराएको बताउनु भएको छ । स्रोत र साधन सबै स्थानीय तहमै भएकाले आफूले समन्वयमात्रै गर्ने कुँवरको भनाइ छ ।
चिकित्सक कुँवरले यो याममा बाख्राको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले बाख्रा बिरामी पर्ने गरेको र पौष्टिक आहारयुक्त दाना खुवाएमा रोग लाग्ने सम्भावना कम हुनसक्ने उहाँको सुझाव छ । 

 

Comment