भगवतीमाई गाउँपालिकाले २७ कृषक समूहलाई उन्नत जातको बोएर बोका वितरण

काठमाडौं ५ जेष्ठ । जिल्लाको भगवतीमाई गाउँपालिकाले व्यवसायिक बाख्रापालनमा स्थानीय कृषकलाई आर्कषण गर्न २७ कृषक समूहलाई उन्नत जातको बोएर बोका वितरण गरिएको छ ।
गाउँपालिकामा रहेका ७ वडालाई विभिन्न क्षेत्रका रूपमा पकेट क्षेत्र निर्माण गर्ने आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको गाउँपालिकाले पहिलो चरण गाउँपालिकमा रहेका २७ वटा कृषि समूहलाई अनुदानमा बोएर जातको उन्नत बोका वितरण गरेको हो । कृषकलाई व्यावसायिक रूपमा बाख्रापालन व्यवसाय सञ्चालन गर्नका लागि कृषि समूहमार्फत बोएर बोका वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले बताउनु भएको छ । थापाले पहिलो चरणमा सातवटै वडामा रहेका कृषक समूहलाई वितरण गरेको र आगामी वर्षदेखि पकेट क्षेत्र निर्धारण गरेको वडालाई मात्र अनुदानमा बोका वितरण गर्ने बताउनु भयो ।  बोएर जातको बोका स्थानीय लोकल जातको बाख्राभन्दा पाल्न सजिलो कम समयमा बढी आम्दानी हुने, तौलअनुसारको मूल्य पाउने र किसानको आयआर्जनमा समेत टेवा पुग्ने उद्देश्यले उक्त बोका अन्य गाउँपालिकाबाट खरिद गरेर ल्याइएको थापाले जानकारी दिनुभएको छ । बाह्य जिल्लाबाट १ लाखसम्मको बोका ल्याएर व्यावसायिक बाख्रा पाल्ने किसानलाई गाउँपालिकाले व्यवस्थित खोर बनाउनका लागि २५ हजार अनुदानसमेत वितरण गरेको थियो ।  बोएर बोका खरिद गर्ने आगामी वर्षबाट अन्य जिल्ला वा गाउँपालिकमा जान नपर्ने भन्दै आगामी वर्षबाट गाउँपालिकाले नै उत्पादन भएका बोएर बोकालाई खरिद गरेर बेच्ने तयारी गरिरहेको गाउँपालिकाकी उपाध्यक्ष चन्द्रा रेग्मीले बताउनु भएको छ । गाउँपालिकाका पशु स्वास्थ्य प्राविधिक शान्ता आर्चायले पहिलो चरण नस्ल सुधारका लागि किसानलाई शतप्रतिशत अनुदानमा बोका विरतण गरेको जानकारी दिनुभएको छ । ( राजधानी दैनिक)
 

Comment