बर्डफ्लुको संक्रमणका कारण नेपालको पोल्टी क्षेत्र धरापमा

काठमाडौं २७ बैशाख । बर्डफ्लुको संक्रमणका कारण नेपालको पोल्टी क्षेत्र धरापमा परेको छ। बर्डफ्लुको हल्लाका कारण पछिल्लो समय सर्वसाधारणले कुखुराको अण्डा र मासु उपभोग कम गरेपछि यो क्षेत्र बिस्तारै धराशयी हुने अवस्थामा पुगेको हो।
नेपालमै पहिलोपटक बर्डफ्लुका कारण एक सर्वसाधारणको मृत्यु भएको विषय बाहिर आएपछि सर्वसाधारणले अण्डा र मासु खान डराएका छन्। यसले गर्दा उपभोग घटेको हो। पोल्ट्री क्षेत्रले कुल ग्रार्हस्थ उत्पादन (जीडीपी) मा चार प्रतिशतले योगदान दिएको छ। पोल्ट्री क्षेत्रमा निजी क्षेत्रको ८ अर्ब र दाना क्षेत्रमा ४० अर्बको लगानी छ। वर्डफ्लुका कारण पोल्ट्री क्षेत्रको समग्र मूल्य शृंखला तह नै जोखिममा पर्दा एक सातामै ६३ करोड रुपैयाँ बराबरको घाटा भएको नेपाल पोल्ट्री महासंघले दाबी गरेको छ। महासंघका अनुसार यो घाटा मुख्य गरी कुखुराको मासु र अण्डाको उपभोग घट्दा, बर्डफ्लुका कारण ब्रोइलर र लेयर्स जातको चल्ला उत्पादन नहुँदा, उत्पादित चल्लाको बजार मूल्य पनि झण्डै ७५ प्रतिशतभन्दा तल झर्दा र तयारी दानाको बिक्रीसमेत झर्दा भएको हो।
महासंघका अध्यक्ष गुणचन्द विष्टका अनुसार सरकारको गैरजिम्मेवार नीतिका कारण आत्मनिर्भर रहेको पोल्ट्री क्षेत्र धराशयी बनेको हो। विष्टले विभिन्न शक्ति केन्द्रको चलखेलका कारण बर्डफ्लुको नाममा आत्मनिर्भर स्वदेशी पोल्ट्री क्षेत्र धराशयी बनेको आरोप लगाउनु भएको हो ।  विष्टका अनुसार एक सातामै मासुतर्फ २१ करोड, ब्रोइलर चल्लातर्फ १५ करोड, लेयर्स चल्लातर्फ १० करोड, अण्डातर्फ १५ करोड ५० लाख र दानातर्फ डेढलाख रुपैयाँको घाटा भएको छ। विष्टका अनुसार कुखुराको मासु र अण्डाको उपभोगदर सबैभन्दा बढी उपत्यकामा घटेको छ। उपत्यकामा मासुको उपभोग दरमा २५ प्रतिशतले गिरावट आए सगै मासुको बिक्री एक दिनमै डेढ लाख किलो घटेको छ। उपत्यकामा दैनिक तीन लाख मेट्रिक टन कुखुराको मासु सामान्य दिनमा खपत हुँदै आएको थियो। 
राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बीसीले पनि सरकारी नीतिका कारण धराशयीबाट जोगिएर पुनः ठडिएको यो क्षेत्र धरासायीको बाटोमा पुगेको बताउनु भएको छ । बीसीले पोल्ट्री क्षेत्र जोखिममा पार्ने उद्देश्यले नियोजितरूपमा गलत प्रचार गरिएको आरोप लगाउनु भएको छ । नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीका अनुसार कुखुराको उत्पादन घट्दा अण्डाको उत्पादनमा पनि कमी आएको छ। दैनिक ४० लाख गोटाको हाराहारीमा उत्पादन भइरहेको अण्डा घटेर अहिले २८ लाख गोटामा झरेको छ।
 
विष्टका अनुसार बर्डफ्लुका कारण अहिले चल्लाको मूल्य पनि तल झरेको छ। उत्पादन भएका चल्ला बिक्री नहुँदा किसान र उद्योगीले अण्डाबाट चल्ला उत्पादन गर्ने काम पनि प्रभावित भएको छ। प्रतिगोटा ८० मा पाइने चल्लाको मूल्य अहिले १० देखि ३० रुपैयाँमा झरेको महासंघले जनाएको छ।  पशु सेवा विभागका महानिर्देशक डा.बंशी शर्माले हल्लाको पछि लागेर कुखुराको मासु उपभोग गर्न छाड्न नहुने जानकारी दिनुभएको छ । डा.शर्माले उच्च तापक्रममा कुखुराको मासु पकाएर सेवन गर्दा मानव स्वास्थ्यलाई कुनै पनि प्रकारको हानि नहुने बताउनु भएको छ । विभागका अनुसार विश्वको ८ अर्ब जनसंख्यामा पछिल्लो दुई वर्षको अवधिमा एक जना सर्वसाधारणको मात्रै बर्डफ्लु संक्रमण भएर मृत्यु भएको जनाएको छ।( अन्नपुर्ण दैनिक)

Comment