बर्डफ्लू रोग संक्रमणका कारण हेटौंडा उपमहानगरपालिकामा ५० हजारभन्दा बढी कुखुरा नष्ट

काठमाडौं १७ चैत्र । बर्डफ्लू रोग संक्रमणका कारण मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा ५० हजारभन्दा बढी कुखुरा नष्ट गरिएको छ। बर्डफ्लू प्रभावित क्षेत्रका २८ वटा फार्ममा रहेका ५० हजार दुई सय ३१ कुखुरा, नौ हजार १५ वटा अण्डा र एक हजार चार सय ६३ किलो दाना नष्ट गरिएको हो।
बर्डफ्लू प्रभावित क्षेत्रमा ४८ वटा पोल्ट्री फार्म रहेकोमा हेटौंडाको वडा नम्बर ६, ७, १६, १७ लगायत स्थानका कुखुरा, अण्डा र दाना नष्ट गरिएको हो। बर्डफ्लू रोग नियन्त्रण जिल्ला प्राविधिक समिति मकवानपुरको बैठकको निर्णयअनुसार चैत ४ गतेदेखि कुखुरा, अण्डा र दाना नष्ट गरिएको समितिका अध्यक्ष एवं मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताउनु भएको छ । जिल्लामा बर्डफ्लू फैलिएकाले उच्च प्राथमिकतामा राखेर नियन्त्रणको थप प्रयास भइरहेको तामाङले जानकारी दिनुभएको छ । मकवानपुरका ३२ किसानको फार्मका संक्रमित कुखुरा तीन चरणमा नष्ट गरिएको बर्डफ्लू संक्रमण नियन्त्रण एकाइका डा. सुशिला श्रेष्ठले बताउनु भएको छ । डा.श्रेष्ठका अनुसार हेटौंडा उपमहानगरपालिकाको हटिया र कमानेमा बर्डफ्लूको संक्रमित थप कुखुरा, अण्डा र दाना नष्ट गरिएको छ । बर्डफ्लूका कारण हेटौंडामा कुखुराको मासु र अण्डा बिक्री वितरणमा उल्लेख्य कमी आएको व्यवसायीको भनाइ छ। बर्डफ्लू रोग नियन्त्रण प्राविधिक समितिका सचिव एवं भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र हेटौंडाका प्रमुख डा. चेतनारायण खरेलको नेतृत्वमा नष्ट गर्ने अभियान चलाइएको थियो । प्रहरी, प्रशासनको उपस्थितिमा काठमाडौंबाट आएका र भेटेरेनरी अस्पतालका पशु चिकित्सक तथा प्राविधिक कर्मचारीले विशेष पोशाक लगाएर कुखुरा, अण्डा र दाना नष्ट गरेका हुन् । डा. खरेलका अनुसार कुखुरा, अण्डा र दाना नष्ट गर्न २० जना बढी जनशक्ति, खाल्डो खन्न र पुर्न एक्जाभेटर समेत परिचालन गरिएको थियो। प्रमुख जिल्ला अधिकारी तामाङको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले बर्डफ्लु प्रभावित क्षेत्रको कुखुरा, अण्डा र दानाको क्षतिपूर्ति दिने निर्णय गरेको थियो। जसअनुसार प्रतिकुखुरा लेयर्स नौ सय, बोइलर चार सय, दाना प्रतिकेजी ६५ र अण्डा प्रतिगोटा ११ रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन जिल्ला बर्डफ्लू रोग नियन्त्रण प्राविधिक समितिलाई सिफारिस गर्ने निर्णय गरेको छ। यता, मकवानपुर कुखुरा व्यवसायी संघका अध्यक्ष राजु अधिकारीले क्षतिपूर्ति रकम चाँडै उपलब्ध गराउन मन्त्रालयमार्फत पहल गरिने बताउनु भएको छ । अधिकारीले बर्डफ्लू संक्रमित क्षेत्रका कुखुरा, अण्डा दाना नष्ट गर्न प्रशासनलाई सहयोग गरेको र ऋण लिएका व्यवसायी मारमा परेका भन्दै चाँडै क्षतिपूर्ति दिन माग गर्ने जानकारी दिनुभएको छ ।  संघका अनुसार मकवानपुरमा करिब तीन हजार कुखुरा व्यवसायीको पालेको १५ लाख कुखुरामा झन्डै ६ अर्ब लगानी रहेको छ।

 २८ वटा फार्ममा रहेका ५० हजार दुई सय ३१ कुखुरा, नौ हजार १५ वटा अण्डा र एक हजार चार सय ६३ किलो दाना नष्ट गरिएको हो । (नागरिक खबर)

Comment