चौँरीपालनको संख्या घटेसगै व्यवसाय सङ्कटमा

काठमाडौं ९ पुस । पछिल्लो समय वनजङ्गल अधिग्रहण, चरिचरनको अभाव, युवा गाउँघरमा नबस्ने भएकाले गोठालोको समस्या, राजस्व महँगो लगायतका समस्याका कारण चौँरीपालनको संख्या  घटेको छ । सोलुखुम्बुमा चौँरीपालकको सङ्ख्या घट्दै गएपछि घ्यू, छुर्पी, चिज, दुर्खा आदि व्यवसाय गर्दै आएका व्यापारीको व्यवसाय सङ्कटमा पर्दै जानुका साथै जिल्ला बाहिरबाट सामान ढुवानी गर्नुपरेकाले समस्या भएको छ । 
सोलुखुम्बुका चौँरीपालन गर्ने नभएपछि अहिले रामेछापको घ्यू र छुर्पीले सोलुखुम्बुको बजार धान्दै गरेको व्यवसायीहरू बताउँछन् । सल्लेरीमा घ्यू, छुर्पी, दुर्खा आदि बेच्दै आउनुभएका मिङ्मार शेर्पाले पहिले आफुले सामान बेच्नेहरु अहिले किन्न आउन थालेको बताउनु हुन्छ । दुई दशकदेखि व्यापार गर्दै आउनुभएका शेर्पाका अनुसार चौँरीपालन गर्ने नहुँदा रामेछापको गुम्देलबाट घ्यू ढुवानी गर्नुपर्ने अवस्था छ । त्यस्तै, रामेछाप र सोलुखुम्बु सीधा यातायात सञ्चालनमा नआएकोले ढुवानी भरियामार्फत गर्दा समस्या भएको हो । चरिचरन, गोठालोको अभावजस्ता समस्याका कारण चौँरीपालन गर्नुभन्दा किनेर खाने सहज भइसकेको शेर्पाको भनाइ छ । 
त्यस्तै, राईहरूको चण्डी नाच र शेर्पाहरूको बिहेमा नाचिने सिलु नाचमा र सनातन धार्मिक कार्यमा प्रयोग गरिने चम्मर (चौँरीको पुच्छर) को व्यापार सङ्कटमा रहेको छ । 

 

Comment