कुखुराको अण्डा र मासुको मूल्य समयानुकूल समायोजन नभएको कुखुरापालक किसानको गुनासो

काठमाडौं ५ जेष्ठ । कुखुराको अण्डा र मासुको मूल्य समयानुकूल समायोजन नभएको भन्दै कुखुरापालक किसानले आफूहरू मारमा परेको बताएका छन् । भारतबाट आउने कच्चा पदार्थमा भन्सारदर बढी हुँदा कुखुराजन्य वस्तु उत्पादनको लागत बढेको तर कुखुरा र अण्डाको मूल्य त्यसअनुरूप समायोजन नहुँदा आफूहरू मारमा परेको उनीहरूको दाबी छ । 
पहिले १.५ प्रतिशत रहेको भन्सार महसुल अहिले पाँच प्रतिशत पुगेको छ । दानासँगै भारतबाट आउने औषधिको समेत अहिले मूल्य बढेको छ । कुखुराको दानाका लागि मकै, भटमासजस्ता कच्चा पदार्थ प्रयोग गरिन्छ । भन्सारदरमा भएको वृद्धिसँगै यसको खरिद मूल्य पनि बढ्नु स्वाभाविक हो । कम हँुदा आयत गरिँदाकै मूल्यभन्दा पनि कम मूल्यमा अहिले अण्डा र कुखुराको कारोबार भइरहेको किसानको दुःखेसो छ । 
अहिले किसान तहमा प्रतिक्रेटमा ठूलो अण्डाको २५० रुपियाँ र मझौला अण्डामा १८० रुपियाँ मूल्य कायम भएको छ । केही अघिसम्म ठूलो अण्डाको २०० रुपियाँ र मझौला अण्डाको १३० रुपियाँ मात्रै थियो । अहिले वृद्धि भएकै ठूलो अण्डाको मूल्यलाई आधार मान्ने हो भने अहिले किसानले एउटा अण्डाको मूल्य ८.३३ रुपियाँ पाएका छन् । यस्तै ब्रोइलर कुखुराको मासु पनि अहिले किसान तहमा प्रतिकिलो १९० रुपियाँ छ । नेपालभर अहिले दैनिक ३५ देखि ४० लाख अण्डा उत्पादन भइरहेको छ । यो सङ्ख्या चितवनमा १५ हजारको हाराहारीमा भएको नेपाल कुखुरा व्यवसायी मञ्चको तथ्याङ्क छ । पशु सेवा विभागको सन् २०१७ को तथ्याङ्कअनुसार नेपालमा करिब सात करोड कुखुरा छन् । देशको कुल मासु उत्पादनको करिब १७.२ प्रतिशत हिस्सा पोल्ट्री क्षेत्रले ओगटेको छ । मञ्चका व्यवस्थापक शिवप्रसाद बराल किसानलाई विस्थापित हुनबाट बचाउन पनि मासु र अण्डाको मूल्य लागत अनुसारको समायोजन हुनुपर्ने बताउनु भएको छ ।( गोरखापत्र दैनिक)

 

Comment