कुखुरापालक किसानले सरकारी उदासीनताका कारण मर्कामा परेको गुनासो

काठमाडौं २० पुस । बाँके र बर्दियाका कुखुरापालक किसानले सरकारी उदासीनताका कारण आफूहरू मर्कामा परेको गुनासो गरेका छन् । भारतबाट अवैधरूपमा कुखुरा आयात हुँदासमेत नियन्त्रण गर्नेतर्फ सरोकारवालाको ध्यान नजाँदा व्यवसायीको लगानी जोखिममा परेको कृषकहरूले गुनासो गरेका हुन् ।
सरकारले कुखुरा आयातमा प्रतिबन्ध लगाएको भए पनि भारतबाट दिनहुँ अवैधरूपमा भित्रिँदा आफूहरू मारमा परेको उनीहरूको गुनासो छ । कुखुरापालक संघले नेपालगन्जमा गरेको पत्रकार सम्मेलनमा व्यवसायीहरूले सरकारी उदासीनताका कारण समस्या भएको गुनासो गरेका हुन् ।
कुखुरापालक व्यवसायी संघका अध्यक्ष लालबहादुर खत्रीले बाँके–बर्दियामा मात्र एक अर्ब बढी लगानी जोखिममा परेको भन्दै भारतीय कुखुराको अवैद्य आयात नियन्त्रण गर्न माग गर्नुभएको छ । “सरकारी निकायले हप्ताअसुलेर विचौलियाले अवैध कुखुरा आयातगर्दा यहाँका व्यवसायी मारमा परेको खत्रीले बताउनु भएको छ । भारतीय कुखुरामा बढी एन्टीवायोटीक औषधि प्रयोग गरिने भएकाले स्वास्थ्यका लागि हानीकारक हुँदा सरकारले प्रतिबन्ध लगाए पनि नेपालमा निर्वाध रूपमा बिक्री भइरहेको उहाँले जानकारी दिनुभएको छ । हाल भारतमा मूल्य बढेका कारण कुखुरा आयातमा कमी आए पनि त्यहाँ मूल्य घट्ने वित्तिकै निर्वाध रूपमा करिव ६० प्रतिशत आयात हुने गरेको खत्रीको भनाइ छ ।
खुला सिमानाका कारण भारतबाट भित्रने अवैध कुखुराका कारण व्यवसायी मारमा परेको, तर राज्यले त्यसलाई रोक्नेतर्फ चासो नदिएकाले सञ्चारमाध्यमको साथ खोजेको उनीहरूले बताएका छन् ।
त्यस्तै विश्व पोल्ट्री दिवस २०७५ का संयोजक यज्ञप्रसाद सुवेदीले बाँके र बर्दियामा कुखुरापालनका लागि उपयुक्त स्थान नभए पनि व्यवसायीले निकै जोखिम मोलेर कुखुरापालन गरेको भन्दै सरकारी मौनताका कारण आफूहरू समस्या परेको बताउनु भएको छ ।
बाँके र बर्दियामा १ हजार ५ सयभन्दा बढी कुखुरापालक किसान छन् । यहाँ उत्पादित कुखुराले जिल्लाको माग धान्न सक्ने भएकाले सिमावर्ती भारतका साथै नेपालकै अन्य जिल्लाबाट आयातित कुखुराले यहाँका व्यवसायीहरू मारमा परेको व्यवसायीहरूको गुनासो छ ।
कुखुरापालकले निकै जोखिम मोलेर व्यवसाय गरे पनि मासु बिक्री गर्ने व्यवसायीले मनोमानी मूल्य कायम गरेर व्यवसायीको ढाड सेक्ने काम गरेको उनीहरूको गुनासो थियो । त्यसैका कारण पनि आफूहरू विस्थापित हुने अवस्थामा पुगेको कतिपय किसानको भनाइ छ ।
दाना, चल्ला, कुखुरा र मासु बिक्रेताबीच भएको अस्वस्थ्य प्रतिस्पर्धालाई एउटै छानामुनी ल्याएर किसानले आफूले उत्पादन गरेको बस्तुको आफैं मूल्य निर्धारण गर्न पाउने व्यवस्था मिलाउनुपर्ने उनीहरूको भनाइ छ ।(कारोवार दैनिक)

 

Comment