लमजुङको मस्र्याङ्दी गाउँपालिकामा हजार भन्दा बढी कुखुरा मरे, बर्डफ्लुको आशंका गरी परिक्षण गरिदै

काठमाडौं २० चैत्र । लमजुङको मस्र्याङ्दी गाउँपालिकाका विभिन्न कुखुरा फार्ममा हप्ता दिनभित्रै एक हजारभन्दा बढी कुखुरा मरेपछि बर्डफ्लुको आशंका गरिएको छ । मस्र्याङ्दी गाउँपालिका–९ सिम्पानीको मस्र्याङ्दी कृषि फार्म, सिम्पानी एग्रिकल्चर फार्म र अन्य कुखुरापालक किसानको खोरबाट एक हजारभन्दा बढी कुखुरा मरेका हुन् ।
मस्र्याङ्दी कृषि फार्मका सञ्चालक सुदिप अधिकारीका अनुसार केही दिनको अन्तरालमा करिव आठ सय कुखुरा मरेका छन् । ठूलो परिमाणमा कुखुरा मरेपछि बर्डफ्लुको आशंका गरी प्रयोगशाला परीक्षणका लागि चितवन लगिएको अधिकारीले बताउनु भएको छ । 
यस्तै सिम्पानी एग्रिकल्चर फार्मका सञ्चालक अमृत भण्डारीले एकसाताको अवधिमा ३ सय २० भन्दा बढी कुखुरा मरेको बताउनु भएको छ । कुखुरा मरेपछि सम्बन्धित निकायमा खवर गरे पनि जिल्लामा परीक्षणका लागि स्रोतसाधन नभएकाले बाहिर जान बाध्य भएको भण्डारीले बताउनु भएको छ । व्यावसायिक कुखुरा पाल्दै आएका मस्र्याङ्दी–८ भुलभुलेका लक्ष्मण गुरुङले पनि आफ्नो खोरमा ६० भन्दा बढी कुखुरा मरेको बताउनु भएको छ । गुरुङ्ले खोरमा भएका अरु कुखुरा झोक्र्याएर बसेको समेत जानकारी दिनुभएको छ । 
केही साताअघि तराईका केही जिल्लामा बर्डफ्लु भेटिएको र तराईबाट नै कुखुराको चल्ला आयात गरिएकाले यहाँ पनि आशंका गरिएको हो । तीन साताअघि चितवनबाट ल्याइएका कुखुराको चल्ला डेढ किलोभन्दा बढी तौलको भएको र करिव १५ दिनमा बिक्रीका लागि तयार हुने बताइएको छ ।
छोटो समयमा यति धेरै मात्रामा कुखुरा मर्नुले बर्डफ्लुको आशंका भए पनि ल्याब परीक्षणको रिपोर्ट नआई भन्न नसकिने भेटेरीनरी अस्पताल लमजुङका प्रमुख डा. रूपेश श्रेष्ठले जानकारी दिनुभएको छ । जिल्लामा पशुपंक्षी सेवाका लागि पशु भेटरीनरी अस्पताल स्थापना भएको छ । यसअघिको जिल्ला पशुसेवा कार्यालयलाई प्रदेश सरकारको मातहतमा भेटेरीनरी अस्पताल स्थापना गरिए पनि विषयविज्ञ र प्रयोगशाला नहुँदा किसानहरू आफैं चितवन तथा पोखरा पुग्न बाध्य छन् । ठूलो परिमाणमा कुखुरा मर्नुको बाहेक सामान्य समस्या पर्दासमेत जिल्लाबाट सेवा नपाएको भन्दै किसानले दुःखेसो पोखेका छन् । स्रोत र साधन विनाको कार्यालय हुनुभन्दा सामान्य भए पनि सेवा सुविधा उपलब्ध गराउन उनीहरूको माग छ ।(कारोबार दैनिक )

 

Comment