महाकुलुङ गाउँपालिकाले पशुपालक किसानलाई उन्नत जातको बाख्रा र बंगुरको पाठा वितरण

काठमाडौं २२ चैत्र । महाकुलुङ गाउँपालिकाका पशुपालकलाई उन्नत जातको बाख्रा र बंगुरको पाठा वितरण गरिएको छ। पशु सेवा शाखाअन्तर्गत चालु आर्थिक वर्षमा स्वीकृत कार्यक्रमबाट पेल्माङ, छेस्काम र गुदेलका कृषकलाई ३२ बाख्रा र ४४ बंगुर वितरण गरिएको हो।
पशुपालनमा नश्ल सुधार गरी उत्पादकत्व र उत्पादन बढाउने उद्देश्यले शतप्रतिशत अनुदानमा बाख्रा र बंगुर उपहारको रुपमा वितरण गरिएको पशु सेवा चिकित्सक डा. बिर्खराज कुलुङले बताउनु भएको छ । आयोजित एक कार्यक्रममा गाउँपालिका अध्यक्ष सागर किराँतीले कृषकलाई बाख्रा र बंगुर वितरण गर्नुभएको हो । मोरङको पथरीबाट किनेर ल्याइएको मेसान जातको बंगुर वडा नं ४ र ५ मा २०–२० वटा पाठी र २–२ वटा वीर (पाठा) वितरण गरिएको हो । वडा नं २ पेमाङ र वडा नं ३ छेस्कामका कृषकलाई हेटौंडाबाट ल्याएको बोयर जातको १५–१५ बाख्रा र एक–एक बोका वितरण गरिएको पशु सेवा शाखाले जनाएको छ । तीन लाख ५० हजारमा बंगुर र १२ लाख रुपैयाँमा बाख्रा खरिद गरिएको हो। बंगुरसँगै पाँच केजीका दरले दाना र मिनरल (खनिज पदार्थ) समेत वितरण गरिएको छ। ( नागरिक न्युज)

 

Comment