पशु क्वारेन्टाइन चेकपोस्ट कैलालीमा तालाबन्दी

काठमाडौं ८ बैशाख । पशु क्वारेन्टाइन चेकपोस्ट कैलालीमा तालाबन्दी गरिएको छ । अदालतले दिएको आदेश नमानेको भन्दै कैलाली उद्योग वाणिज्य संघको नेतृत्वमा गएको व्यवसायीको टोलीले शनिबार तालाबन्दी गरेको हो।
पशु क्वारेन्टाइनले चैत २० गतेदेखि दाना उद्योगीका कच्चा पदार्थ बोकेका गाडी आयातमा रोक लगाएको छ। क्वारेन्टाइनले भारतीय क्वारेन्टाइनको स्वस्थ्यताको प्रमाणपत्र भए मात्रै गाडी छोड्ने अडान लिएपछि व्यवसायीले उच्च अदालमा रिट हालेका थिए। कच्चा पदार्थ चेकजाँच गर्दै तत्काल गाडी छोड्न उच्च अदालत इजलाश महेन्द्रनगरले अन्तरिम आदेश दिइसकेको छ। यद्यपी क्वारेन्टाइनले गाडी छोड्न र अदालतको आदेश मान्न अटेरी गरेपछि बाध्य भएर आन्दोलनमा गएको व्यवसायी विवेक भट्टले बताउनु भएको छ । कैलाली उद्योग वाणिज्य संघले उच्च अदालतको आदेशपछि पनि भारतबाट ल्याइएको कच्चा पदार्थ नछोड्ने क्वारेन्टाइनविरुद्ध कडा संघर्ष गर्ने बताएको छ । धनगढीमा भएको छलफलपछि क्वारेन्टाइन विरुद्ध कडा संघर्षमा उत्रिने निर्णय भएको हो। पशु क्वारेन्टाइन चेकपोस्ट धनगढीले कच्चा पदार्थ ल्याउँदा भारतको स्वस्थताको प्रमाणपत्र माग्दै १६ वटा कच्चा पदार्थ बोकेका ट्रक भन्सारमा रोकेको छ। दुई सातादेखि कच्चा पदार्थ भित्रिन नसकेपछि सुदूरपश्चिममा पोल्ट्री व्यवसाय नै संकटमा परेको भन्दै व्यवसायी निराश हुन थालेका छन्। सुदूरपश्चिमका सबै नाकाबाट पशुपन्छीजन्य वस्तुको आयात ठप्प गरिएपछि पोल्ट्री व्यवसाय नै संकटमा पर्ने खतरा छ। पशु क्वारेन्टाइन चेकपोस्टले २० बर्षसम्म लागु नभएको नियम सुदूरपश्चिमका व्यवसायीका लागि मात्रै लागु गरेर भारतको प्रमाणपत्र मागेको व्यवसायीको आरोप छ । अन्य प्रदेशका नाकाबाट भने निर्वाध रुपमा कच्चा पदार्थ आयात भइरहेको उनीहरुको भनाइ छ। दाना उद्योगीले भारतबाट कच्च पदार्थ ल्याउदा भारतको स्वस्थताको प्रमाणपत्र ल्याउन परे निकै समस्या हुने बताउँदै आएका छन्। सुदूरपश्चिममा कुखुरा व्यवसायका लागि झण्डै ८० प्रतिशत दाना भरतबाट आयत हुँदै आएको छ ।  सुदूरपश्चिममा मात्रै साप्ताहिक रुपमा झण्डै २ लाख कुखुरा खरिद हुन्छ भने दैनिक डेढ लाख अण्डा खरिद हुँदै आएको तथ्यांक छ । सुदूरपश्चिम पोल्ट्री व्यवसायमा मात्रै झण्डै ५ अर्ब लगानी छ ।(अन्नपुर्ण दैनिक)

 

Comment